बागमती

मकवानपुरगढी गाउँपालिकाको सबै वडा बालमैत्री घोषणा

इकागज |
फागुन २८, २०७८ शनिबार १४:२६ बजे

मकवानपुर - बाल मैत्री स्थानीय शासन लागू भएको गाउँपालिकाको रुपमा घोषणा गर्ने तयारीमा रहेको मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाको सबै वडाहरु बालमैत्री घोषणा गरिएको छ ।

गाउँपालिकालाई बालमैत्री घोषणाको पूर्व तयारी अनुरुप शुक्रबार सबै वडाहरु  बाल मैत्री घाेषणा गरिएकाे हाे । आगामी १२ चैत्रमा गाउँपालिका बालमैत्री स्थानीय शासन लागू भएको घोषणा गरिने तयारीमा रहेको छ ।

सबै वडामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै विभिन्न बालमैत्री सम्बन्धी नारा लगाएर, सचेतनामूलक खैजेड भजन, गीत, नृत्य प्रदर्शन गरि वडाहरूलाई बालमैत्री घोषणा गरिएको हो । बालमैत्री गाउँपालिका घोषणाको लागि पुग्नुपर्ने सूचकहरु शतप्रतिशत पुगिसकेकाले वडा घोषणा गरिएको गाउँपालिकाका बालमैत्री कार्यक्रम संयोजक रामप्रसाद दाहालले बताए ।

सबै वडामा वडा अध्यक्ष पालिकाको प्रतिनिधित्व वडा सदस्यहरू, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए । साथै प्रतिवद्धता स्वरुप सामूहिक हस्ताक्षर गरि वडामा बाल विवाह मुक्त र बाल श्रम निकृष्ट वडा घोषणा गरेका थिए ।

वडालाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा भएकाले वडालाई बालमैत्री घोषणा गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए । ‘शुक्रबार सबै वडा बालमैत्री घोषणा भएकाले सबै सूचकहरुकाे जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारबाट अनुगमन, मूल्यांकन हुनेछ‘ पुडासैनी बताए ।

बालमैत्री वडा घाेषणाकाे लागि गाउँपालिकाले प्रत्येक वडामा बालमैत्री सहजकर्ता राखी काम गरेकाे थियाे । २०७८ मंसिरमा घोषणा गर्न तयारी रहेकोमा कोरोना भाइरस संक्रमणका कारण ढिलाई भएको अध्यक्ष बिदुर हुमागाईले बताए ।

गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा निर्देशिका २०७८ अनुसार ५१ वटा सुचकका आधारमा आधारित भएर काम गरेको थियो । ५१ वटा सुचकहरुमा बाँच्न पाउने अधिकारमा १४ वटा, संरक्षणको अधिकारमा १० वटा, विकासको अधिकारमा ६ वटा, सहभागिताको अधिकारमा ६ वटा र संस्थागत सुचकमा १५ वटा रहेका छन् ।

मकवानपुरगढी बालमैत्री घोषणा गर्ने नेपालको गाउँपालिका मध्ये चौथो, बागमती प्रदेशमा तेस्रो र मकवानपुर जिल्लामा पनि तेस्रो गाउँपालिका रहेको संयोजक दाहालले बताए । उनले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार भने नेपालकै दोस्रो गाउँपालिकाको रुपमा मकवानपुरगढी रहेको बताए । बालमैत्री घोषणा गर्ने पहिलो गाउँपालिका पाल्पा जिल्लाको रम्भा गाउँपालिका रहेको छ ।



Author

थप समाचार
x