बागमतीको एकमात्रै उपमहानगरको प्रमुख बन्ने होडमा एमालेका ३ नेता
मकवानपुर–स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मकवानपुरका एमाले नेताहरु स्थानीय तहको प्रमुख बन्ने होडमा होमिएका छन्। बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडाको प्रमुख बन्ने होडमा एमालेमा मात्रै ३ नेताहरु आकांक्षी देखिएका हुन् ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि हेटौंडा उपमहानगरको प्रमुख बन्नका लागि एमाले भित्र ३ जना आकांक्षी देखिएका हुन्। हेटौंडा उपमहानगरको मेयर बन्नको लागि संविधान सभाका पूर्व सदस्यदेखि हालका मेयरसम्मले इच्छा देखाएका हुन्।
यसै अनुसार एमाले नेताहरुले आफ्नो गतिविधि र सम्पर्कलाई अघि बढाएका छन् । निर्वाचन मिति नजिकिंदै गर्दा एमालेले संगठनहरूलाई चलायमान बनाउँदै नेताहरुको गतिविधिलाई समेत ध्यान दिन थालेको बताएको छ ।
हेटौंडाको मेयर बन्नका लागि एक वर्षदेखि नै पार्टीभित्र र नेताहरूसँग संविधानसभा सदस्य तथा एमाले बागमती प्रदेशका संगठन विभाग प्रमुख अनन्त पौडेलले मेयर हुने इच्छा देखाएको चर्चा छ । पौडेल संविधानसभा सदस्यहरू मिलेर गठन गरिएको संस्था संविधानसभा सदस्य परिषद् संयोजक हुन् । उनले हेटौंडामा विकास निर्माणका ठूला÷साना आयोजना, जनताका आवश्यकता, अपेक्षा पूरा गर्ने भन्दै आश्वासन बाँड्न थालिसकेको चर्चा छ ।
यसैगरी हालका मेयर हरिबहादुर महतले फेरि एक कार्यकाल मेयर बन्ने आकांक्षा राखेका छन् । उनी आगामी निर्वाचनका लागि वातावरण उपुयुक्त बनाउने कसरतमा लागेको उनकै सचिवालयले जनाएको छ ।
यसैगरी मेयर बन्ने होडमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल पनि देखिएका छन् । मेयर बन्नका लागि खुलालले वडाको स्थानीय तहमा पुगेर कार्यकर्ता भेट्ने र नेतृत्वको नियमित सम्पर्कमा रहेने क्रमलाई बलियो बनाउन थालेका छन्।
पौडेल र खुलाल एमालेभित्र ओली समूहका पुरानो अनुहार हुन् । महत विगतमा माधव नेपाल पक्षका मानिए पनि मेयरमा निर्वाचित भएपछि भने कतै खुलेका छैनन्। मेयरका आकांक्षी महत, पौडेल र खुलाल आन्तरिक रूपमा आफूनिकट नेताहरूसँग लबिङ गरिरहेका छन्। एक एमाले जिल्ला सदस्यका अनुसार पौडेलले पहिल्यैदेखि मेयर हुने तीव्र इच्छा बोकेका छन्। दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा उनले माओवादी उम्मेदवारलाई पराजित गरेका थिए।
गत स्थानीय तहको निर्वाचनमा एमालेको सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हेटौंडा उपमहानगरपालिका हो। २०४६ मा बहुदल स्थापनापछि ०४९ र ०५४ मा भएको निर्वाचनमा हेटौंडामा एमाले विजयी बनेको थियो। २० वर्षपछि २०७४ मा भएको निर्वाचनमा पनि एमालेका मेयर र उपमेयर नै निर्वाचित भए।
जिल्लाका १० पालिकामध्ये एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने गत निर्वाचनको परिणामले देखाउँछ। मकवानपुरका स्थानीय तहमा हाल एमालेको बहुमत छ। यद्यपि हालै टुक्रिएको एमालेलाई आगमी निर्वाचन त्यति सहज भने छैन। २०७४ सालको निर्वाचनमा एमालेले ६ पालिका, कांग्रेस र माओवादीले दुई–दुई पालिका जितेका थिए। एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा एमालेबाट निर्वाचित दुई पालिका अध्यक्ष गुमाएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया