स्थानीय तह निर्वाचन
हेटौँडाको मेयर बन्ने दौडमा काँग्रेसका यी चार नेता
मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको प्रमुख बन्न नेपाली काँग्रेसका नेताहरूले आन्तरिक दौडधुप सुरु गरेका छन् । कांग्रेसले टोल–टोलमा कमिटी निर्माण गर्दै आफ्नो एजेण्डाहरू मतदाताहरूसामु लैजान सुरु गरेको छ ।
कांग्रेसले निर्वाचन लक्षित गरी वडा–वडामा पार्टी प्रतिनिधि खटाउने, ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ भन्ने अभियान नै थालेको छ । आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेस जसरी पनि हेटौंडामा चुनाव जित्ने रणनीतिअनुसार अगाडि बढेको जिल्ला सभापति बुद्ध लामाले बताए । कांग्रेस २०७४ सालको निर्वाचन मतपरिणामअनुसार दोस्रो शक्ति हो ।
उपमहानगरको प्रमुख जित्नको लागि काँग्रेसले आफ्नो रणनीतिलाई बलियो बनाउँदै ल्याएको सभापति लामाले बताए । नेपाली कांग्रेसबाट ४ जना मेयरका आकांक्षी छन् ।
कांग्रेस मकवानपुरका पूर्वसचिव तथा अघिल्लो स्थानीय तह निर्वाचनमा मेयर प्रत्याशी आनन्दराम पराजुली मेयरका बलियो आकांक्षी हुन् । १४औं जिल्ला अधिवेशनमा सभापतिमा त्रिपक्षीय भिडन्त हुँदा दोस्रो भएका पराजुलीलाई मेयरको टिकट दिने आश्वासनमा पार्टीको दोस्रो चरणको निर्वाचनबाट पराजुलीलाई ब्याक गराएको थियो ।
यसैगरी नेपाली कांग्रेस मकवानपुरका युवा नेता प्रभातकुमार दाहाल पनि हेटौंडाको मेयरका दाबेदार हुन् । पार्टीमा प्रकाशमान सिंह पक्षधर दाहालले आफू मेयरको उम्मेदवार बन्ने बताउँदै आएका छन् ।
यसैगरी अघिल्लो निर्वाचनमा मेयरको चुनाव लडेका कांग्रेसका वर्तमान सचिव भीमसेन महत पनि मेयरका आकांक्षी हुन् । अघिल्लो निर्वाचनमा नेकपा मालेबाट मेयरमा लडेका महत हाल काँग्रेसका जिल्ला सचिव हुन् । उनी अघिल्लो निर्वाचनलगत्तै माले छोडेर काँग्रेस प्रवेश गरेका थिए । ‘म मेयरमा चुनाव लडेर अनुभव लिइसकेको व्यक्ति हुँ, एकपटक फेरि मेयरमा उठ्छु र जित्छु पनि’, महतले भने ।
यसैगरी हाल हेटौंडा उपमहानगरपालिका-५ का अध्यक्ष राजेश बानियाँले पनि मेयरको इच्छा राखेका छन् । उनलाई काँग्रेस नेता इन्द्र बानियाँको समेत बलियो साथ भएको कारण अन्तिम समयमा इन्द्र बानियाँले राजेश बानियाँलाई मेयरको रुपमा अघि बढाउने निश्चित भएको उनी निकट स्रोतले जनाएको छ ।
आगामी निर्वाचनमा एमालेलाई आफ्नो साख बचाउने चुनौती छ भने कांग्रेसलाई इतिहास रच्ने चुनौती छ । कांग्रेसले हेटौंडामा हालसम्म निर्वाचन जित्न सकेको छैन । हाल एमाले पार्टीमा आएको फुटको कारण पनि काँग्रेसले आफ्नो मौकाको रुपमा बलियो उम्मेदवार उठाएर जित्ने सपना बुनेको छ । एमालेको सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हेटौंडा उपमहानगरपालिका हो । निर्वाचनकै संघारमा एमाले फुटेपछि आफूहरूलाई यो भन्दा सुनौलो अवसर अरु केही नहुने भन्दै काँग्रेसले आन्तरीक तयारीलाई बलियो बनाउँदै ल्याएको छ ।
२०४६ मा बहुदल स्थापनापछि ०४९ र ०५४ मा भएको निर्वाचनमा हेटौंडामा एमाले विजयी बनेको थियो । २० वर्षपछि २०७४ मा भएको निर्वाचनमा पनि एमालेका मेयर र उपमेयर नै निर्वाचित भएका थिए ।
यो पनि
बागमतीको एकमात्रै उपमहानगरको प्रमुख बन्ने होडमा एमालेका ३ नेता
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया