बागमती

गठबन्धनबारे छलफल जारी छ: प्रकाशमान सिंह

इकागज |
चैत ७, २०७८ सोमबार १९:४१ बजे

मकवानपुर - स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट अघि बढ्ने वा एक्लै मैदानमा जाने बारे नेपाली काँग्रेस छलफलमा रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले बताएका छन् ।

स्तरबाट केन्द्रीय सम्पादन समितिले सुझाव संकलन गरिरहेको र सोही आधारमा एउटा निश्कर्षमा पुगिने उनले बताए । ‘धेरै सुझावहरु आएका छन्, कसैले निर्वाचनमा एक्लै जानुपर्छ भन्नुभएको छ, केहीले गठबन्धन नगरी हुँदैन भन्नुभएको छ । पार्टीको आन्तरिक सुझाव अनुसार नै अघि बढ्ने हो' उनले भने ।

सिंहले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घर दैलो अभियानलाई तीब्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज कांग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले मतदाताको घर–घरमा पुगेर उनीहरुको सुखदुखमा सरिक हुँदै आवश्यक सुझावसमेत संकलन गर्न सकेमात्रै जनताको विश्वास र मत दुवै प्राप्त हुने बताए ।

‘स्थानीय निर्वाचन नजिकिएको छ, हामी जनताको घर आँगनमा पुग्न सकेका छौँ कि छैनौँ, म राम्रो उम्मेदवार हुँ मैले जितिहाल्छु भनेर बसेर हुँदैन है, जनताको बीचमा पुग्न सक्नुपर्छ' उनले भने 'उनीहरुको अवस्था कस्तो छ, जनहितमा पार्टीले के गर्न सक्छ, जनताको हामीप्रति असन्तुष्टिहरु छन् कि, कांग्रेसले सुधार्नुपर्ने पो केही छ कि ?'

यी सबै विषयमा गम्भीर हुनु आवश्यक भएको सिंहले बताए । उनले सरकारले निर्वाचनको मिति तय गरिसकेको अवस्थामा पनि केहीमा अझै चुनाव हुँदैन कि भन्ने शंका देखिएकोले दोधारमा नपर्न आग्रह गरे । ‘सरकारले निर्वाचनको मिति तोकिसकेको छ, निश्पक्ष ढंगबाट निर्वाचन गराउन सरकार तयारी अवस्थामा छ । तर, केही मानिसहरुमा निर्वाचन तोकिएको समयमा नहुने हो कि भन्ने शंका रहेको पनि देखियो ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश कार्यसमिति कांग्रेसलाई जनताप्रति अझै जवाफदेही र जिम्मेवार बनाउन सक्रिय ढंगबाट अघि बढिरहेको बताए । उनले कांग्रेस नेपाली जनताको मन मुटुमा बसेको पार्टी भएको बताउँदै कांग्रेसप्रति जनताको विश्वास अझै आर्जन गर्न सबैले आ–आफ्नो क्षेत्रमा भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसबाट बागमती प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गरेका मन्त्री तथा सांसद्हरु प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, १३ वटै जिल्लाका सभापतिहरुलगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 



Author

थप समाचार
x