बागमती

हेटौंडाको मेयर कप फुटबल प्रतियोगिता स्थगित

इकागज |
चैत १८, २०७८ शुक्रबार ११:१६ बजे

मकवानपुर- मकवानपुरमा आगमी २० चैत बाट हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता स्थगित गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले प्रतियोगिताको सबै तयारी पुरा भएपछि स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

स्थानीय तहको निर्वाचन नजिकिएकोले प्रतियोगिता आयोजना गर्न नसकिने भन्दै अर्को सूचना नभएसम्मको लागि प्रतियोगिता स्थगित गरिएको विज्ञप्तिमा भनिएको छ ।


उपमहानगरपालिकाले पाँचौं संस्करणको प्रतियोगिताको लागि सबै तयारी पुरा भएको जानकारी अघिल्लो दिनमात्रै गराएको थियो । बिहीबार नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले एक सूचना जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी गराएका हुन् ।

हेटौंडामा मेयर कप अन्तरगत बुद्धिचाल प्रयोगिता भने यसअघि नै सम्पन्‍न गरिसकिएको छ । मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिता–२०७८ को उपाधी हेटौंडाका क्षितिज भण्डारीले जितेका छन् । खेलमा काठमाडौँका मनिष हमाललाई हराउँदै भण्डारीले प्रतियोगिताको उपाधि हात पारेका हुन् । भण्डारीले उपाधी विजेता बन्दै नगद ५० हजार रुपैयाँ हात पारे ।

त्यस्तै चितवनमा भएको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ । प्रतियोगिताको उपाधिसँगै मकवानपुरले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल प्राप्त गरेको छ ।

बिहीबार भएको फाइनल खेलमा मकवानपुरले नवलपुरलाई १७४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । मकवानपुरले ४० ओभरमा १० विकेट गुमाएर २ सय २५ रन बनाएको थियो । मकवानपुरका शुभ कंशाकारले २४ बलमा ४३ रन बनाएका थिए । यस्तै, गौरब खड्काले २२, विशाल फुयाँलले ६९, सुमन सुनारले ७, आकाश घिमिरेले २४ रन बनाएका थिए ।

२ सय २६ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको नवलपुर १६ ओभर ४ बलमा सबै विकेट गुमाएर ५१ रन मात्रै बनाउन सक्यो । नवलपुरलाई सस्तैमा समेट्ने क्रममा मकवानपुरका रिजन ढकालले ७ विकेट लिए । नवलपुरका शुभम खरेलले १३ रन र दीपक डुम्रेले ११ रन जोड्दा ३ खेलाडी शून्यमै आउट भए ।

अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । प्रतियोगितामा मकवानपुरका रिजन ढकाल म्यान अफ द सिरिज घोषित भए ।

मकवानपुरका शुभ कंशाकार उत्कृष्ट व्याट्स्म्यान हुँदा नवलपुरका कमल परियारले उत्कृष्ट बलरको पुरस्कार प्राप्त गर्न सफल भए ।
 


Author

थप समाचार
x