सञ्चारमाध्यमले नागरिकको सुसूचित हुने अधिकारको प्रवर्द्धन गरेको छ : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सञ्चार माध्ययमहरुले नागरिकहरुको सुसूचित हुने अधिकारको प्रर्वद्धन गरिरहेको बताएका छन् ।
सञ्चारमाध्यमले आगामी दिनमा थप सशक्त र जनताप्रति जवाफदेहीपूर्ण ढंगबाट अघि बढ्नुपर्ने शर्माले बताए । ‘सत्यको सम्प्रेषण गर्न सकेको अवस्थामामात्रै पत्रकारिता क्षेत्रले सफलता प्राप्त गरेको मानिन्छ’ उनले भने ।
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अतिरिक्त देश र जनतालाई अदम्य शाहस भएको स्वाभिमानयुक्त पत्रकारिता आवश्यक भएको शर्माले बताए । विभिन्न कालखण्डमा शासकहरुबाट पत्रकारिता क्षेत्रलाई दबाउन भएका प्रयासहरु बिफल पार्दै निडरतापूर्वक अघि बढेको पत्रकारिता क्षेत्रकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकोमा यसको रक्षाका निम्ति पनि पत्रकारहरु उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए ।
स्टेट भिजन प्रा.लि.द्वारा सञ्चालित तु खबर डटकमको ५ औं वार्षिक उत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले जिम्मेवार तथा सशक्त पत्रकारिता नै समाज परिवर्तनको सम्वाहक भएको उल्लेख गरेका हुन् ।
पत्रकारिता क्षेत्रले समाजमा विद्यमान, कुरीति, कुसंस्कृति, अन्धविश्वास र राजनीतिक क्षेत्रमा रहेका ययास्थितिवादीहरुको विपक्षमा उभिएर जनताको हक र हितको पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताए । मोफसलबाट सञ्चालित सञ्चार माध्ययमले यो स्तरको अनुकरणीय कार्य गरेको भन्दै प्रशंसा समेत उनले गरे ।
५ जना पत्रकार र १ जना छापाखानामा कार्यरत कर्मचारी पुरस्कृत
हेटौंडामा ५ जना पत्रकार र १ जना छापाखानामा कार्यरत कर्मचारी पुरस्कृत भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरुलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् ।
स्टेट भिजन प्रा.लि.द्वारा संचालनमा रहेकाे तु खबर डटकमको ५ औँ वार्षिक उत्सवको अवसरमा शनिवार आयोजना गरिएकाे वार्षिक उत्सव एवम् पत्रकारिता पुरस्कार वितरण समारोहमा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी नगद १५ हजार १ रुपैयाँ राशीको ‘जागरण तु खबर अग्रज पत्रकार पुरस्कार –२०७८ बाट सम्मानित भएका छन् । २०५१ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर आम नागरिकको सूचित हुने अधिकारको निम्ति पुर्याएको योगदानको कदर गर्दै सम्पादक भण्डारीलाई मकवानपुर जागरण अभियानसँगको सहकार्यमा तु खबरले स्थापना गरेको ‘जागरण तु खबर अग्रज पत्रकार पुरस्कार २०७८’ प्रदान गरिएको हो ।
यस्तै राजधानी दैनिकमा कायरत पत्रकार ध्रुव लम्साल नगद १२ हजार १ राशीको ‘रुपचन्द्र विष्ट स्मृति पत्रकारिता पुरस्कार–२०७८ बाट सम्मानित भएका हुन् । २०५७ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील रहदै आएका लम्साल कला क्षेत्रमा कलम चलाउँछन् । पछिल्लाे समय उनी राजधानी दैनिकको अनलाइन संस्करण राजधानी डेल्ली डटकमका सम्पादक हुन् ।
यसैगरी नेपाल समाचारपत्रका मकवानपुर संवाददाता रोशन पराजुली नगद १० हजार १ रुपैयाँ राशीको ‘जागरण तु खबर समकालीन पत्रकार पुरस्कार–२०७८ बाट पुरस्कृत भएका हुन् । पराजुली २०५२ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन्। रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल (खुसराज) नगद १० हजार १ राशीको ‘तु खबर रेडियो पत्रकारिता पुरस्कार–२०७८ पुरस्कृत भएका छन् । २०४८ सालदेखि पत्रकारितामा निरन्तर रुपमा काम गर्दै आएका दाहाल हाल रेडियो पत्रकारितामा स्थापित छन् ।
यस्तै धादिङ्पोष्ट डटकमका सम्पादक नारायण शिलवाल नगद १० हजार १ राशीको तु खबर अनलाइन पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत भएका हुन् । सिलवाल २०६२ सालदेखि पत्रकारितामा क्रियाशील भई हाल अनलाइन पत्रकारको रुपमा स्थापित छन् । यस्तै २०४० सालदेखि हेटाैडाका विभिन्न छापाखानामा छपाईको काम गर्दै आएका कर्मचारी सोमबहादुर विष्टलाई ५ हजार नगदसहित सम्मान गरिएकाे तु खबरका सम्पादक गिरिजा अधिकारीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया