सार्वजनिक कार्यक्रममै कांग्रेस नेताहरूले दिन थाले 'काउन्टर'
मकवानपुर- स्थानीय तहको निर्वाचन अब ३८ दिन बाँकी छ । निर्वाचनमा बलियो उपस्थिति बनाउन सत्तारुढ ५ दलीय गठबन्धन एकातिर तयार छ भने अर्कोतर्फ प्रतिपक्ष नेकपा एमाले । गठबन्धन भएपनि कुन स्थानीय तहका कुन पार्टीले कति पाउने भन्ने बाँडफाँडको टुंगो लागेको छैन । गठबन्धनमा आफूहरूको दाबी राख्ने तयारीका लागि जुटेका सम्बन्धित दलभित्र भने अन्तरविरोध तथा मतमतान्तर सुरु भएको छ ।
गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसभित्रको विवाद हेटौँडाको एक कार्यक्रममा प्रष्टै देखियो । कांग्रेसले आयोजना गरेको नगर भेलामा पार्टीका शीर्ष नेताहरुले नै भाषणमा एक अर्कालाई काउन्टर दिए । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र पार्टीको बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको भनाई बाझिएपछि कार्यकर्ताहरू अलमल्ल परे । ‘स्थानीय तहको निर्वाचनमा पार्टीले गरेको निर्णय अनुसार मतदानमा सहभागी नहुने र टिकट नपाएको खण्डमा विद्रोह गर्छु’ भन्ने नेताहरुलाई बानियाँले ‘पार्टी छाड्नु’ भन्ने अभिव्यक्ति भाषणमै दिए । यसैलाई डिनाले सिधै खण्डन गरिन् ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगरद्वारा आयोजित नगरसभामा बानियाँलाई काउण्टर दिँदै डिनाले भनिन्, 'जनता माझ लोकप्रिय नेतालाई टिकट दिनुपर्छ, हामीले आन्तरिक चुनावको तिक्ततालाई बिर्सेर अघि बढ्नुपर्ने अवस्था रहेको छ । तर, नेतृत्वले पार्टीमै बस्ने वातावरण बनाउनुपर्छ, छोडेर जा भन्नहुन्न ।' 'सरकारदेखि सदनसम्म गठबन्धन छ, त्यसकारण तोडेर जान सकिन्न । जबर्जस्त गठबन्धन गर्नु भनेर आजसम्म केन्द्रले भनेको छैन, अवस्था के छ पठाउनु भनेको हो' उनले भनिन् ।
अघिल्लो चुनावमा पनि मकवानपुरमा आवश्यकताको आधारमा गठबन्धन भएको स्मरण गराउँदै उनले भनिन् 'अहिले गठबन्धनलाई अनौठो मान्नु जरुरी छैन, जिल्लास्तरीय संयन्त्र बन्दै गर्दा आफ्नो पार्टीको मान्छे मन नपरेकै कारण अर्कैलाई टिकट दिने काम नगरौं, पार्टीको लागि दुर्भाग्य हुनेछ ।'
उनले आफूहरुले पाउने मतको अवस्था हेरेर गठबन्धन गर्न आग्रह गरिन् । 'तर गठबन्धनकै कारण महिलाको टिकट नकाटियोस्' उनले भनिन् यसरी महिला सधैं पछाडि पर्नेछन् ।'
नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँले स्थानीय तहको निर्वाचनमा सत्तागठन्धन एक ढिक्का भएर मैदानमा उत्रने बताउँदै त्यसको लागि पार्टीले व्यक्तिको मुल्याङ्कन गरेर टिकट दिने र यसमा सबैले सहमति हुनैपर्ने बताउँदै ‘विरोध नगर्न’ भनेका थिए ।
बानियाँले गठबन्धन गर्ने विषयमा पार्टीमा सर्वसम्मतरुपमा निर्णय भएको र निर्णय नमान्नेले पार्टी छाड्दा हुने बताउँदै भनेको थिए ‘पार्टीको निर्णय अन्तिम निर्णय हो, सोही अनुसार अगाडि बढ्नुपर्छ,गठबन्धनले उचित स्थानमा आवश्यकता र औचित्यको आधारमा टिकट वितरणको निर्णय गर्नेछ,पार्टीले गरेको निर्णय नमान्ने र मतदान गर्दैनौं भन्नेहरू पार्टी छाडेर जाँदा हुन्छ ।'
प्रदेश संसदीय दल नेता समेत रहेका बानियाँले पार्टीमा सधैं एउटै व्यक्तिले टिकट नपाउने दाबीसमेत गरे । 'पार्टीमा सधै एउटै व्यक्तिले टिकट पाउँदैन, आफूले पाए ठिक, अरुले पाए बेठिक भन्नुहुँदैन' उनले भने 'एकपटक हार्दा वा टिकट नपाउँदैमा राजनीति सकिँदैन ।' गठबन्धनकै कारण कांग्रेस प्रदेशदेखि केन्द्रसम्म सरकारमा पुगेको स्मरण गराउँदै पार्टीको निर्देशन अनुसार मतदान गर्न कार्यकर्तालाई आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया