इच्छाकामना गाउँपालिकामा भूमिहीनलाई निस्सा वितरण
फाइल फोटो
चितवन - चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ ।
वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपूर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका विज्ञ सदस्य निरप्रसाद लामिछाने, राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य लक्ष्मीकान्त दवाडी र गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले सोमबार एक कार्यक्रमका बीच संयुक्तरुपमा निस्सा वितरण सुरु गरेका हुन् ।
राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य लामिछानेले लालपूर्जा पाउनेमा ढुक्क हुन सबैमा आग्रह गरे । उनले भने, `लालपूर्जा पाउनेमा तपाईंहरु ढुक्क हुनुहोस्, विश्वस्त रहनुहोस् नापी कार्यालयसँग समन्वय गरी जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडि बढाउने छौँ ।`
सो कार्यक्रमअन्तर्गत पहिलो दिन सोमबार २० जनालाई निस्सा वितरण गरिएको छ । निस्सा पाएपछि स्थानीयवासी खुसी भएका छन् । निस्सा पाएपछि चाँडै लालपूर्जा पाउने आशा व्यक्त गर्दै उपस्थित भूमि आयोगका सदस्य र जनप्रतिनिधि कर्मचारीहरुलाई धन्यवाद दिए ।
गाउँपालिका कार्यालय सेवा केन्द्र प्रमुख हरि देवकोटाका अनुसार इच्छाकामनामा जग्गाका लागि तीन हजार ३८९ भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले निवेदन दिएका छन् ।
वडा नं ७ मा सबैभन्दा बढी एक हजार ५१० भूमिहीन दलित र सुकुम्वासी रहेका छन् । वडा नं ७ बाट प्राप्त निवेदन आयोगको अनलाइन प्रणालीमा प्रबिष्ट गर्ने कार्य सम्पन्न भएसँगै निस्सा वितरण सुरु गरिएको प्रमुख देवकोटाको भनाइ छ ।
अन्य वडाको पनि भूमि आयोगको अनलाइन प्रणालीमा निवेदन प्रबिष्ट गर्ने कार्य भइरहेकाले चाँडै निस्सा वितरण गरिने उनले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया