राजनीतिक दललाई मन्त्री लामाको वचन : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सर्दैन
मकवानपुर- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत भएको बताएका छन् । उनले प्रतिष्ठान हेटौंडाबाट नसर्ने बताएका छन् ।
मकवानपुरका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री लामाले सार्न खोजेको भन्ने कुरा भ्रम मात्रै भएको बताए । उनले हेटौंडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकाले अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरे ।
हेटौंडा अस्पतालको अहिलेकै संरचना र अवस्थामा मास्टर्स तहको अध्ययन गराउन सकिने अवस्था नभएकाले नजिकैको अस्पताल भरतपुरलाई अध्ययनका लागि मात्रै लिइएको बताउँदै उनले स्नातक तहका तीन विषयको कक्षाहरू हेटौंडामा नै सञ्चालन भइरहेको जानकारी गराए ।
प्रतिष्ठान बागमती प्रदेशको गौरव भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट २० करोड र संघीय सरकारबाट संरचनाका लागि ९५ करोड रुपैयाँ बजेट उपलव्ध भएकाले हेटौंडामा पूर्वाधार विकास गर्न लागिएको बताए । उनले अघिल्लो सरकारले जग्गासमेत प्राप्ति नगर्दा काम अघि बढाउन समस्या भएकाले यसको यथाशिघ्र समाधान गरिने बताए ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, प्रदेश सदस्य चम्फुरत्न लामा, माओवादी केन्द्र मकवानपुरका सचिव भिम पाख्रिन, राप्रपा नेपाल मकवानपुरका गुरूप्रसाद सापकोटा, मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायतसँग मन्त्री लामाले छलफल गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया