बागमती

एमाले मकवानपुरले टुङ्ग्यायो दुई गाउँपालिकाको प्रमुख पद

सरिता दाहाल |
चैत २६, २०७८ शनिबार १८:३२ बजे

मकवानपुर - स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले जिल्लाको ८ मध्ये २ वटा गाउँपालिकको लागि प्रतिनिधि छनाेट टुङ्ग्याएको छ

नेकपा एमालले आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि अध्यक्ष  र उपाध्यक्षका लागि गाउँ कमिटीले नाम सिफारिस गरेको पार्टी जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले बताए ।

पार्टी अध्यक्ष श्रेष्ठका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा  वर्तमान अध्यक्ष उपाध्यक्षले नै दोहोर्‍याउने मौका पाएका छन् । बहालवाला अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानाले पुन पार्टीबाट सर्वसम्मत टिकट पाएका हुन् ।

आज भएको भीमफेदी एमाले गाउँ कमिटीको बैठकले गाउँपालिकाको अध्यक्षमा वर्तमान गाउँपालिकाका अध्यक्ष लामा तथा उपाध्यक्षमा वर्तमान उपाध्यक्ष रानालाई नै उठाउने सर्वसम्मत निर्णय गरेको हो ।

गएको २०७४ मा भएको स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबैमा एमालेका उम्मेद्वार लामा र राना विजयी भएका थिए ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेबाट उठेका लामाले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवार रन्जित कुमार रानालाई १४४ मत अन्तरले पराजित गरेका थिए । यसैगरी उपाध्यक्ष पदमा रानाले गठबन्धनको उम्मेदवार मोमलाल दोङलाई ३ सय ६७ मत अन्तरले पराजित गरेकी थिईन् ।

जिल्लाको राक्सिराङ गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षको टुङ्गो लागेको छ । यस गाउँपालिकाको लागि नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा क्रमश: बाबुराम थापा र  सुन्तली चेपाङलाई सिफारिस गरिएको छ । यस गाउँपालिकामा गत चुनावमा नेपाली कांग्रेससँग एमालेले पराजय भोगेको थियो ।

पार्टी अध्यक्ष श्रेष्ठका अनुसार भोलिसम्ममा जिल्लाको सबै गाउँपालिकामा एमालेको उम्मेदवारी सिफारिस टुङ्गिने छ । मकवानपुर ८ वटा गाउँपालिका छन् । यता उपमहानगर र नगरपालिकामा पनि भोलि २७ चैतमा नगर कमिटीको बैठक बस्दैछ । उपमहानगरको हकमा नगर कमिटीले सिफारिस गरेको नाम जिल्ला कमिटी प्रदेशमा पठाउने छ, र प्रदेश कमिटिले अन्तिम टुङ्गो लगाउने छ ।

यता मकवानपुरमा एमालेसँग प्रतिस्पर्धा हुन गठबन्धनको तर्फबाट पनि कुन पालिकामा कुन पार्टीको कस्लाई पठाउने भन्ने बारे गृहकार्य भैरहेको नेपाली काँग्रेस मकवानपुरले जनाएको छ । 



Author

थप समाचार
x