बागमती

भरतपुर महानगरपालिका:  राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्कोतर्फ

इकागज |
चैत २८, २०७८ सोमबार ९:३७ बजे

फाइल फोटो

चितवन - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले  सबैको ध्यान आकर्षित गरिरहेको छ । 

देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर)को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ । 


यहाँका जनताको अपेक्षा भने सुशासन, पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, कृषि उत्पादनमा अनुदान, व्यवस्थित बसोबास, पर्यटन प्रबद्र्धन, दिगो आर्थिक विकास जस्ता विषय जनताको चासोका विषय बनेका छन् ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने शिक्षा र स्वास्थ्य निःशुल्क गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिन्छन् । 

हुँदै नहुनेले शिक्षा र स्वास्थ्य निःशुल्क रुपमा पाउनुपर्ने भन्दै उनले हुनेखानेले सहज र सर्वसुलभ रुपमा शिक्षा र स्वास्थ्य पाउनुपर्ने बताए । उनले भने, `महानगरले शिक्षा र स्वास्थ्य सकेसम्म निःशुल्क गर्नुपर्छ, पैसा लिनुपर्दा सर्वसुलभ हुनुपर्छ ।`
 
२१औँ शताब्दीमा पनि उपचार नपाएर कसैले पनि मर्न नहुने उनको भनाइ छ । रोजगारीका लागि आवश्यक शिक्षा र तालिमको प्रबन्ध महानगरले गर्नुपर्ने न्यौपानेले बताए । 

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराई दिगो आर्थिक विकासको रणनीतिअनुसार महानगरमा काम गर्नुपर्ने बताउँछन् । 

वातावरण संरक्षण गर्न महानगरले ध्यान दिनुपर्ने भन्दै उनले प्राथमिकतामा फोहरमैला व्यवस्थापन, महानगरवासीको प्रतिव्यक्ति आय वृद्धिका लागि काम गर्नुपर्ने बताए । उनले भने, `उद्योग व्यवसाय खोल्ने वातावरण सिर्जना गरेर रोजगारी दिने गरी काम गर्नुपर्छ ।`
 
पोल्ट्री व्यवसायी उनले पोल्ट्रीको हबका रुपमा परिचित यहाँबाट फार्म विस्थापित हुँदै गएको भन्दै पोल्ट्रीसँग सम्बन्धित उद्योग स्थापनामा सहजीकरण गर्नुपर्ने बताए । 

उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष राजु पौडेल महानगरवासीको पहिलो अपेक्षा रोजगारी भएको बताउँछन् । 

सुशासनको प्रत्याभूति दिलाउँदै सहज सुविधा पाउने वातावरण सिर्जना गर्न उनको जोड छ । कृषि उत्पादनको आधारमा दिइने अनुदान प्रभावकारी भएको भन्दै उनले त्यस अनुरुपको काम गर्नुपर्ने बताए । 

महानगरले प्रतिलिटर दूधमा तीन रुपैयाँ दिएको अनुदान प्रभावकारी भएको भन्दै यही मोडलमा काम गर्नुपर्ने उनले सुझाव दिए । 

ग्रामीण क्षेत्रमा सडक सञ्जाल राम्रो बनेको भन्दै उनले सार्वजनिक यातायात सहज बनाउनु, खेलकुदमा जोड दिन, खुल्ला विश्वविद्यालय स्थापनामा पहल गर्न, स्मार्ट सिटीको काम सम्पन्न गर्न नागरिकको माग रहेको बताउँछन् । 

व्यवसायी दिनेशकुमार चुके पूर्वाधार विकासमा फड्को मारेको भए पनि अपेक्षाकृत हुन अझै बाँकी रहेको बताउँछन् । 

रोजगारमूलक उद्योगको स्थापना गर्न, बाहिरबाट बसाइसराइ गरी आएकालाई सर्वसुलभ रुपमा आवासको व्यवस्था गर्न उनले जोड दिए । 

 पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको भन्दै उनले यसको व्यवस्थित व्यवस्थापनमा जोड दिनुपर्ने बताए । 

पर्यटकीय क्षेत्रमा लगानी आवश्यक रहेको उनको भनाइ छ ।
 
व्यवसायी राजन गौतम भरतपुर महानगरको विकासमा फरक ढङ्गले सोच्नुपर्ने बताउँछन् । महानगर नजिकै रहेको नगर वन झुक्किएर बनेको टापु भएको भन्दै नारायणीमा रहेका यस्ता टापुहरु निकालेर नदीलाई एउटै धारमा बगाउने व्यवस्था गर्नुपर्ने उनको तर्क छ । 

उनले भने, `नारायणी तटबन्धमा अरबौं खर्च गर्ने होइन, नदीजन्य पदार्थ निकालेर खर्बौको आम्दानी गर्नुपर्छ ।` यसबाट लाखौं बिघा जमिन निस्कन र भरतपुर महानगर बच्ने उनको तर्क छ ।

महानगरभित्र बाँझो जमिन राख्न नहुने भन्दै उनले बाँझो जमिन राख्नेलाई कारबाही गर्ने गरी ऐन नियम बनाउनुपर्ने बताए । 

मौसम अनुसारको खेतीमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले भने, `बेमौसमी खेती रोक्नुपर्छ ।` व्यावसायिक र कृषि क्षेत्रमा हुने दलालीतन्त्रको अन्त्य गर्नु उनको भनाइ छ । 

जमिनमा आधुनिक प्रविधि प्रयोग गरेर खेती गर्न प्रोत्साहन गर्नुपर्ने गौतमले बताए । रासस


Author

थप समाचार
x