बागमती

हेटौंडाको मेयरमा एमालेबाट अझै लागेन टुङ्गो

मेयर र उपमेयरका लागि ३-३ जनाको नाम सिफारिस

इकागज |
चैत २९, २०७८ मंगलबार १७:३२ बजे

मकवानपुर । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको लागि आज पनि नाम टुङ्ग्याउन सकेन ।

लामो रस्साकस्सी गर्दा पनि आकांक्षीहरूबीच सहमति हुन नसकेपछि आज एमाले नगर कमिटीले जिल्ला कमिटीलाई ३-३ जनाको नाम सिफारिस गरेको छ । मेयर र उपमेयरको नाम नगर कमिटीले सिफारिस गरेको हो ।


जसमा १ महिलासहित ३ जना मेयरका आकांक्षी छन् भने, १ पुरूषसहित ३ जना उपमेयरको आकांक्षी छन् ।

आसन्न स्थानीय तह निर्वाचनका लागि बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट ९ जनाले मेयरको दाबी गरेका थिए । त्यस्तै ७ जनाले उपमेयरको दाबी गरेका थिए ।

३ दिन अघिको बैठकमा सहमति जुटाउन नसकेपछि आज मंगलबार फेरि आकांक्षीहरू सहित नगर कमिटीको बैठक बसेको थियो । आज पनि सहमति नभएपछि एमाले नगर कमिटी बैठकले मेयरका लागि हालका मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त प्रसाद पौडेल र हालका जिल्ला समन्वय समिति सदस्य गणेशकुमारी श्रेष्ठको नाम सिफारिस गरेको हो ।

हेटौंडाको मेयरका लागि एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बहालवाला मेयर महत, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्यहरु मदन दाहाल, ध्रुव चौलागाईं, जिसस सदस्य प्रधान र संगठित सदस्य विके महर्जनले आकांक्षा व्यक्त गरेका थिए ।

यस्तै बैठकले उपमेयरमा अनेमसंघ जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, एमाले महिला नेतृ आरती पाठक र हाल हेउमनपा वडा १० का सदस्य तथा हेउमनपा न्यायिक समिति सदस्य ईन्द्र नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

हेटौंडाको उपमेयरका लागि ७ जनाले आकांक्षा व्यक्त गरेको भएपनि तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो । उपमेयर पदका लागि काफ्ले, पाठक र नेपालसहित सीता बिष्ट, मेनुका दाहाल, प्रतिमा श्रेष्ठ र रमिला सापकोटाले इच्छा राखेका थिए ।

जिल्ला कमिटीमा सिफारिस भएका उमेदवारहरुबीचमा पुन छलफल गराएर सकेसम्म एक÷एक जनाको नाम प्रदेश कमिटीमा पठाइने छ र प्रदेश कमिटीले केन्द्रिय कमिटीमा नाम पठाएपछि केन्द्रले अन्तिम टुङ्गो लगाउने छ ।
 


Author

थप समाचार
x