बागमती

हतियार बुझाउन मान्दैनन् सर्वसाधारण

इकागज |
बैशाख ४, २०७९ आइतबार १८:५७ बजे

मकवानपुर - इजाजतपत्र लिएर वैधानिक रूपमा घरमा हातहतियार राख्दै आएका सर्वसाधारणहरूले प्रशासनसमक्ष हातहतियार बुझाउन अटेर गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय मकवानपुरले ११ चैतमा हतियार बुझाउन आग्रह गरेको थियो ।

सरकारले निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्था अन्तर्गत देशभर नै इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरे अनुसार मकवानपुरमा पनि प्रशासनमार्फत हातहतियार बुझाउन आव्हान गरेकोमा ८ प्रतिशतले मात्रै हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रशासनका अनुसार जिल्लाभित्र इजाजत लिएका ४९ हातहतियारमध्ये ४ जनाले मात्र बुझाएका छन् । हतियार नबुझाउनेहरुको विषयमा सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिने जिल्ला प्रशासन कार्यलय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन आव्हान गरेपनि सूचनालाई अटेर गरेको पाईएको हो ।

स्थानीय तहको निर्वाचनलाई भरभर्दो एवं विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र बुझाउनु सरकारले सर्कुलर जारी गरेको थियो ।

“केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार प्रशासन कार्यालय मकवानपुरले इजाजतपत्र प्राप्त हातहतियारहरू निर्वाचन पश्चात् फिर्ता हुनेगरी चैत्र मसान्तभित्र नजिकको प्रहरी इकाईमा बुझाउन सूचना जारी गरेका थियौ, तर केहीले मात्रै बुझाउनु भयो” सहायक प्रजिअ गैह्रेले भने । सूचनाको बर्खिलाप भए कानून बमोजिम कारवाही हुनसक्ने उनले बताए ।



Author

थप समाचार
x