बागमती

हेटौंडाको मेयर बन्न गठबन्धनभित्रै हानथाप, शक्तिकेन्द्रसम्म दौडधुप

इकागज |
बैशाख ४, २०७९ आइतबार २०:३७ बजे

मकवानपुर - बागमती प्रदेशको एकमात्रै उपमहानगरपालिका हेटौडा उपमहानगरपालिकाको मेयर बन्नको लागि सत्तारुढ ५ दलीय गठबन्धन भित्र हानथाप जारी छ । गठबन्धनका सबै पार्टीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद आफूहरुले पाउनु पर्ने दाबी मौखिक रुपमा भाषणको शैलीमा गर्दै आइएकोमा यो मागले अब औपचारिक रुप लिन थालेको छ ।

सत्ता गठबन्धनकै एउटा घटक माओवादीले औपचारिक रुपमै हेटौंडा उपमहानगरपालिकाको मेयर आफूहरुले पाउनु पर्ने दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा बागमती प्रदेशको भरतपुर महानगरपालिका र हेटौंडासहित चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको हो । सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादी नेता वर्षमान पुनले तीन वटा महानरपालिका (काठमाडौं, ललितपुर र विराटनगर) नेपाली कांग्रेसले लिएर तीन वटा अरु दललाई दिन प्रस्ताव गरेका हुन् ।


भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी (जसपा) र पोखरा एकीकृत समाजवादीले लिने उनले प्रस्ताव गरेसँगै हेटौंडा उपमहानगरपालिकामा काँग्रेसले भाग पाउनु पर्ने माग गर्दै मकवानपुरमा स्थानीय नेताहरु केन्द्रमा पुगेका छन् ।

प्रदेशको ११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने पुनले बताएका छन् ।

यता नेपाली काँग्रेस मकवानपुरका नेताहरुले हेटौंडा उपमहानगरपालिकाको मेयरमा काँग्रेसले पाउनुपर्ने माग राखेका हुन् । काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर काँग्रेले मेयर पाउनुपर्ने गठबन्धनभित्रका दलहरुलाई अरु पद भाग लगाउनुपर्ने माग गर्दै दबाब सुरु गरेका छन् । “हामीले हाम्रो तर्फबाट आफ्नो पार्टीको सांगठनिक अवस्था बारे राम्रोसँग जानकारी गराएका छौ, हेटौंडा उपमहानगरपालिका हामीले पाउनु पर्छ, हाम्रो जित निश्चित छ” नेपाली काँग्रेसबाट हेटौंडाको मेयरको दाबेदार आनन्दराम पराजुलीले भने । “एमालेलाई जित्न सक्ने हैसियत काँग्रेसमा छ, हामीले हेटौंडा उपमहानगर चाहेका छौ” पराजुलीले भने ।

काँग्रेस मकवानपुरका नेता तथा कार्यकर्ताहरुले जिल्ला नेता आनन्दराम पराजुलीलाई मेयरको उमेदवार बनाउनका लागि माग समेत गरेका छन् । एमालेलाई हराउन सक्ने एक मात्र उमेदवार भन्दै पराजुलीलाई टिकट दिलाउन समेत माग गरेको बुझिएको छ। पराजुलीको टोलीले काँग्रेस महामन्त्री गगन थापा, गृह मन्त्री, पार्टी प्रबक्तालगायतकालाई भेट गरेका छन् ।

गठबन्धनका दलहरुका बिचमा नेकपा एकिकृत समाजवादीले हेटौंडाको मेयर पाउने हल्ला चलिरहेका बेलामा काँग्रेसका सम्भावित उमेदवारहरुले काँग्रेसका केन्द्रका नेताहरुलाई भेट गरेका हुन् ।

आफ्नो पक्षमा माहोल रहेको भन्दै कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँसहित नेविसंघ पूर्वमहामन्त्री प्रतातकुमार दाहालले पनि टिकटको विषयमा कुराकानी गर्न प्रधानमन्त्री देउवासँग भेट गरेको थिए ।
 

यसैबीच हेटौंडा उपमहानगरको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसलाई अगाडि बढाउने र जिल्ला समन्वय समिति मकवानपुर प्रमुखमा नेकपा (एकीकृत समाजवादी) को उम्मेदवारलाई सघाउने भद्र सहमति भएको छ । यससँगै मेयरका आकांक्षीहरु दौडधुपमा व्यस्त भएका हुन् ।

गठबन्धनको प्रदेशस्तरीय र जिल्लास्तरको बैठकमा हेटौंडा उपमहानगरमा कांग्रेसलाई अगाडि बढाउने र समाजवादीलार्ई जिससको नेतृत्व प्राप्त गर्ने विषयमा सहमत भएको छ ।

जिल्लाको दशवटा स्थानीय तहको विभाजन र वडास्तरमा कसरी अगाडि बढ्ने भन्ने समेत सहमति उन्मुख रहेको छ । गठबन्धन स्रोतका अनुसार कांग्रेसले ५, माओवादीले ३ र नेकपा (एस) ले २ वटा स्थानीय तह प्राप्त गर्ने सम्भावना रहेको छ । माओवादी र नेकपा (एस) ले ३–३ वटा स्थानीय तह मागे कारण सहमतिका लागि केन्द्रको निर्देशन कुर्नुको बिकल्प नभएको बताइएको छ  ।

स्थानीय तहको प्रमुख वा उपप्रमुमा मात्रै होइन गठबन्धनबाट वडाध्यक्ष र सदस्यमा पनि आकांक्षी धेरै छन्। दलको सांगठनीक अवस्था र स्थानीय क्षेत्रमा गरेको योगदानका आधारमा भन्दा पनि शक्ति केन्द्रको चाहनामा उम्मेदवार तय हुने क्रम यस पटकको निर्वाचनमा पनि देखिन थालेपछि कार्यकर्तामा भने निराशा बढेको छ । हेटौंडा गठबन्धनभित्र समाजवादीबाट पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेदेखि जिल्ला अध्यक्ष श्रीधर पोखरेलसम्म दौडधुपमै छन्। यता हेटौंडा उपमहानगरको बहालवाला उपमेयर तथा नेकपा एस की जिल्ला उपाध्यक्ष मिनाकुमारी लामाको चर्चा पनि राम्रै छ ।

यता हेटौंडाको मेयरको लागि नेकपा एमालेभित्र कसले टिकट लिने भन्ने लडाइँ सतहमै देखिएको छ। उपमहानगरका बहालवाला नगरप्रमुख हरिबहादुर महत मेयर पदमा दोहोरीनको लागि दीलो ज्यान दिएर लागेका छन् । एमाले केन्द्रीय सदस्य रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल र जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल नगर प्रमुखको दौडमा छन्। आकांक्षीमा सहमति नजुटे एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठ आफैं चुनावी मैदानमा उत्रने गरी आन्तरिक तयारीमा जुटेका छन्। एमालेले जिल्लाका अधिकांश पालिकाहरूमा उम्मेदवार टुड्डो लगाउँदा हेटौंडा नगरको मात्र व्यवस्थापन गर्न सकेको छैन ।

 


Author

थप समाचार
x