कर्मचारी दलको प्रचारमा नलागौँ : मुख्य निर्वाचन अधिकृत श्रेष्ठ
मकवानपुर- मकवानपुरका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले आसन्न स्थानीय तहको निर्वाचन दलको प्रचारमा नलाग्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् । चुनावलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राष्ट्रसेवक कर्मचारीको ठूलो जिम्मेवारी रहेको बताउँदै उनले मतदातालाई घात हुने र आचारसंहिता विपरीत हुने भएकोले दलको प्रचारमा नलाग्न कर्मचारीलाई आग्रह गरेका हुन् ।
आज जिल्ला प्रशासन कार्यालय मकवानपुरले आयोजना गरेको कार्यालय प्रमुखहरुको बैठकमा निर्वाचन आचारसंहिताको पालना र निर्वाह गर्नुपर्ने भुमिकाबारे जानकारी दिंदै उनले यस्तो बताएका हुन् । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले राष्ट्रसेवक कर्मचारीले कुनै पनि राजनैतिक दलको प्रचारप्रसार गर्न र बिभिन्न कार्यक्रममा भाग नलिइ तटस्थता हुनुपर्नेमा बताए ।
“लोकतन्त्रमा आ—आफ्नो बिचार सबैको हुन्छ तर कर्मचारीको भूमिका निर्वाह गर्दा निर्वाचन आचारसंहिता पालना गर्नैपर्छ” उनले भने । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष गराउनु सबैको साझा दायित्व रहेको बताए ।
स्थानीय तहको निर्वाचनलाई उत्साहजनक बनाउन उनले आग्रह गरे। प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले स्थानीय निर्वाचनको तयारी लगभग सकिएको बताए । जिल्लामा निर्वाचनमा खटीने कर्मचारीको विवरण संकलन, मतदानस्थलको निरिक्षण, अनुगमन र सम्बन्धित निकायहरुसँग समन्वय र छलफल भैरहेको उनले बताए।
जिल्लाका निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशक्त प्रहरी सहित विभिन्न संस्थानका कार्यालय प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको बैठकमा सहभागीहरुले निर्वाचनका बिषयमा जिज्ञासा राखेका थिए । मकवानपुरमा कूल मतदाता करिब ३ लाख १० वटा स्थानिय तह रहेको मकवानपुरमा कूल मतदाता संख्या २ लाख ९५ हजार ५ सय ५० जना रहेको छ ।
विगतको तुलनामा यसपटक जिल्लामा ३९ हजार ९ सय ४६ जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।
जसअनुसार ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ९५, कैलाश गाउँपालिकामा १४ हजार ६ सय २०, थाहा नगरपालिकामा ३२ हजार ३ सय १६, बकैया गाउँपालिकामा ३० हजार १३, बागमती गाउँपालिकामा २२ हजार ९०, भिमफेदी गाउँपालिकामा १७ हजार ४ सय ९०, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय ५०, मनहरी गाउँपालिकामा २६ हजार ७ सय ५१, राक्सिराँग गाउँपालिकामा १५ हजार ८ सय ७३ र हेटौंडा उपमहानगरपालिकामा १ लाख ४ हजार ४ सय ७३ रहेको निर्वाचन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
२०७४ सालको स्थानियतहको निर्वाचनमा मकवानपुरमा २ लाख २७ हजार ७ सय मतदाता रहेका थिए । स्थानिय तहको निर्वाचनका लागि मकवानपुरको १ मतदान स्थल सारिने र १ थपिने भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका —४ स्थित बासुदेशसभागृहको मतदानस्थल हेटौंडा उपमहानगरपालिका—४ भुटनदेबी माध्यमिक बिद्यालयमा सारिने निर्णय भएको निर्वाचन कार्यालयले जनाएको छ । बासुदेबसभागृह भत्काएर नयाँ भवन निर्माण कार्य भैरहेकोले मतदानस्थल सारिएको हो । त्यसैगरी मनहरी गाउँपालिकामा १ मतदानस्थल थप्ने निर्णय भएको छ । मनहरी—६ मा मतदानस्थल थपिने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया