बागमती

हेटौंडा उपमहानगर र थाहा नगरमा उम्मेदवार सिफारिस

इकागज |
बैशाख ५, २०७९ सोमबार १८:४५ बजे

मकवानपुर - मकवानपुरको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा काँग्रेस र एकिकृत माओवादीले आसन्न स्थानीय तहको लागि उम्मेदवार सिफारिस गरेको छ ।
गठबन्धन गर्दा कुन पालिका कसले पाउने टुङ्गो नलाग्दै पार्टीहरुले आ आफ्नो पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गरेका हुन् ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडानगर प्रमुखमा नेपाली काँग्रेसले १ महिला सहित ३ जनाको नाम सिफारिस गरेको छ  भने थाहा नगरपालिकामा माओवादीले ३ जना पुरुषको नाम सिफरिस गरेको छ ।


नेपाली काँग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा मेयरको उम्मेदवारको रुपमा आनन्दराम पराजुली,उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको छ। यसैगरी काँग्रेसले हेटौंडा उपमहानगरको लागि उपप्रमुखमा ३ महिलाको नाम सिफारिस गरिएको छ।

अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीलाई उपमेयरमा सिफारीस गरेको हो ।

नगर कार्य समितिले प्रमुख र उपप्रमुखको नाम कांग्रेस मकवानपुरको क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीले बताए ।

नगर प्रमुखमा सिफारिस भएका पराजुली २०७४ को स्थानीय तहको निर्वाचन अन्तर्गत हेटौंडानगर प्रमुखमा झिनो मतान्तरले पराजित भएका थिए। पराजुली हेटौंडानगर निवर्तमान सभापतिका साथै प्रभावशाली नेताका रुपमा चिनिन्छन्।

साथै नगर कार्य समितिको बैठकले हेटौंडा उपमहानगरको प्रमुखको नेतृत्व कांग्रेसले पाउनुपर्ने निर्णय समेत गरेको छ।

यता मकवानपुरको पर्यटकीय नगर थाहा नगरपालिकामा माओवादीले थाहाका सबै वडाहरुसहित मेयरका लागि तीन जनाको नाम सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्रले आशन्न स्थानीय निर्वाचनका लागि माओवादी नगर कमिटीको बैठकले अरुण रायमाझी, बिष्णु बिष्ट र राजेश केसीको नाम सिफारिस गरेको हो ।

रायमाझी र विष्टको सम्भावना बलियो छ । रायमाझी तत्कालीन जनमोर्चा नेपालबाट एकतापछि माओबादीमा समाहित भएका हुन् भने विष्ट माओवादी भूमिगत राजनीतिबाट नै सक्रिय भएका हुन् । अर्का उमेदवार केसी ३ नम्बर वडाका वर्तमान अध्यक्ष हुन् ।

उपप्रमुखमा भने आज कुनै छलफल भएन । सत्ता साझेदार दलहरुबीचको गठबन्धनको टुङ्गो नलाग्नाले उपप्रमुखमा कुनै छलफल नभएको बताइएको छ ।

यसैगरी, थाहाको वडा नम्बर १, २, ९, ११ र १२ मा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । वडा नम्बर १ मा हेरमान गोपाली, २ मा बमबहादुर सिन्तान, ९ मा राजकुमार बलामी, ११ मा दिनेश बल र १२ मा हिरामान लामाको नाम सर्वसम्मत सिफारिस गरेको हो । १, ३ र १२ का उमेदवारहरु पुरानै अनुहार हुन् ।

यसैगरी वडा नम्बर ३ मा हिरेन्द्र रायमाझी, लक्ष्मण बिष्ट, राजिव स्याङ्दान, वडा नम्बर ४ मा जमिन दियाली र नारायण बहादुर लामा, ५ नम्बरमा मुकेश गोले र मान सिं दोङ, ६ नम्बरमा दामोदर सुवेदी र इन्द्रबहादुर श्रेष्ठ, ७ नम्बरमा दिपक लामा र बिनायक गोले, ८ नम्बरमा सुमन कार्की र टिकाराम रुम्बा, १० नम्बरमा मङ्गलाल गोपाली र सुशिला गोपालीको नास सिफारिस भएको छ ।

मकवानपुरमा चुनावी मैदानमा गठबन्धनबाट कुन पालिका कसले पाउने भन्नेमा भने अझै सहमति हुन सकेको छैन ।


Author

थप समाचार
x