बागमती

सुनकोसी गाउँपालिका:

सहमति नजुटेपछि निर्वाचन गरेर नाम सिफारिस

इकागज |
बैशाख ७, २०७९ बुधबार २०:४२ बजे

काठमाडौँ - सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले गाउँपालिका अध्यक्षमा आकांक्षी धेरै भएपछि मतदान प्रक्रियाबाट अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गरेको छ । 

आज भएको गाउँपालिकाको बैठकमा सहमति नजुटेपछि आकांक्षीहरुबीच मतदान गरिएको थियो । सात जना आकांक्षीमध्ये मतदानबाट बढी मत ल्याउने रुपकाजी लामा र नेत्र कार्कीको नाम सिफारिस गरिएको हो । हालका अध्यक्ष विनोद जिसी `श्रवण`को कम मत आउँदा उनी भने सिफारिसमा पर्न सकेनन् । यस्तै सुनकोसी ६ नम्बर वडाका वडाध्यक्ष रामकुमार थापाको पनि कम मत आउँदा उनी पनि सिफारिसमा परेनन् ।


त्यस्तै उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपाध्यक्षमा ६ मध्ये बढी मत ल्याउने कान्छी तामाङ, ज्ञानु तिमल्सिना र अम्बिका तिमल्सिनाको नाम सिफारिस भएका छन् । 

मतदानमा गाउँ कार्यसमितिका ४२ सदस्यमध्ये ४१ जना उपस्थित भएका थिए । जसमा २९ जना मतदान प्रक्रियामा सहभागी भएका थिए । पार्टीको दुई उपसभापति, सचिव दुई जना, सहसचिव एक जना र सातजना सदस्यहरु गरी १२ जना निर्वाचन प्रक्रियामा सहभागी भएनन् । 

सहमति नजुटेपनि बहुमतीय प्रक्रियाबाट उम्मेदवार छान्न पाउने कांग्रेसको विधानले नै व्यवस्था गरेको छ । 

टुङ्गो लागेका नामहरु भोलि जिल्ला कार्यसमितिमा पठाउने गाउँ सभापति रुपकाजी लामाले जानकारी दिए । विधानले एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न भनेपनि अध्यक्षमा महिलाको दाबी नभएपछि दुई पुरुषको मात्रै नाम सिफारिस गरिएको लामाले बताए । हालका गाउँपालिका अध्यक्ष जीसिले भने गाउँ कार्यसमितिले एकलौटी गरेको भन्दै मतदान प्रक्रिया बहिष्कार गरेका छन् । 


Author

थप समाचार
x