बागमती

काठमाडौँको मेयरमा सिफारिस भएका स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

इकागज |
बैशाख ११, २०७९ आइतबार ११:३६ बजे

काठमाडौँको मेयरमा सिफारिस भएका केशव स्थापित राजीनामा बुझाउँदै । तस्बिर : सरिता दाहाल/इकागज

मकवानपुर- आसन्‍न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन्  । नेकपा (एमाले) को सचिवालय बैठकले हिजो मात्र स्थापितलाई काठमाडौँको मेयर बनाउने निर्णय गरेको थियो ।

प्रदेशका पुर्वमन्त्रीसमेत रहेका स्थापितले आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई हेटौंडा कार्यालयमा पुगेर राजीनामा दिएका थिए । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने तय भएकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताए । निर्वाचन आयोगले बनाएको आचारसंहितामा पनि जनप्रतिनिधिले निर्वाचनमा उम्मेद्‌वार हुन अघि राजीनामा दिनुपर्ने भनिएको छ । काठमाडौँको क्षेत्र नम्बर ६ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।


काठमाडौँ महानगरको मेयर जितेपछि सबैभन्दा पहिले त्रिचन्द्र कलेजको पुनरुत्थान गर्ने मुख्य योजना रहेको उनले बताए । 'काठमाडौको अन्य कलेजहरूको पनि उत्थान गर्ने छु,पहिलो योजना त्रिचन्द्र हुनेछ' उनले भने । 'शिक्षा बिना कुन क्षेत्रको विकास संभव छ ?' उनले भने । आयुर्वेद स्वास्थको क्षेत्रमा पनि आफ्नो बिशेष ध्यान रहने उनले बताए । 

प्रदेश सांसदमा रहदा आफूले स्थानीय तहको विकासमा मन बुझ्ने गरि काम गर्न नपाएपछि आफूले स्थानीय तह रोजेको उनले बताए । 'म त विद्यार्थी राजनीति देखि नै स्थानीय क्षेत्रको विकास चाहिन्छ भन्‍ने मान्छे हुँ,प्रदेश किन चाहियो ?' उनले भने । स्थापित बागमती प्रदेशको पुर्व भौतिक पुर्वाधार मन्त्री हुन् । 

अब बागमतीमा एमालेका ४१ जनामात्र प्रदेश सभा सदस्य रहने भएका छन् । प्रदेशमा एमालेका ४३ जना प्रदेश सभा सदस्य रहेकोमा भरतपुरमा मेयरमा उम्मेद्‌वारी दिन प्रदेश सभा सदस्य विजय सुवेदीले यस अघि नै राजीनामा दिइसकेका छन् ।


Author

थप समाचार
x