बागमती

मकवानपुरका ६ जनाले लिए उम्मेदवारी फिर्ता

इकागज |
बैशाख १६, २०७९ शुक्रबार १८:३ बजे

 

मकवानपुर - आसन्न स्थानीय स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये मकवानपुरका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मकवानपुर जिल्लाको एक गाउँपालिका अध्यक्षको उम्मेदवार हेटौंडा उपमहानगरका ५ जना वडा सदस्यको उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएकी लक्ष्मी माया माझी कृपाले उम्मेदवारी फिर्ता गरेकी छन् । नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा मनोनयन दर्ता गराएकी उनले शुक्रबार उम्मेदवारी फिर्ता गरेकी हुन् ।

उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका आधिकारिक उम्मेदवार कांग्रेसका धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्ष पदबाट उम्मेदवार फिर्ता गरेकी हुन् ।

गत वैशाख १२ गते उम्मेदवारी दर्ता गराएकी उनले निर्वाचन अधिकृतको कार्यालय बकैया हात्तिसुडे पुगेर उम्मेदवारी फिर्ता गरेकी हुन् ।

उनले गठबन्धनको वास्तविक मर्म र पार्टी केन्द्रको निर्देशन अुनसार आफूले उम्मेदवारी फिर्ता लिएको बताइन् । गठबन्धनको सहमति अनुसार, अध्यक्षमा कांग्रेसका लामिछाने र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर खत्री उम्मेदवार हुन् ।

यसअघि बकैयाको उपाध्यक्ष पदमा कांग्रेसबाट उम्मेदवार बनेकी छायाँ अधिकारीको उम्मेदवार खारेज भइसकेको छ । अधिकारीको कृषि गणना कार्यक्रममा गणक पदमा कार्यरत रहेको प्रमाण फेला परेपछि उम्मेदवारी खारेज भएको थियो ।

यसैगरी हैटौंडा उपमहानगरपालिकामा हालसम्म पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उनीहरुले उम्मेदवारी फिर्ताका लिएका हुन् । आफूले दर्ता गरेको उम्मेदवारी फिर्ताका लागि ५ जनाले निवेदन दिएपछि उनीहरुको उम्मेदवारी फिर्ता भएको कार्यालयले जनाएको छ ।

निवेदन दर्ता गराउनेमा हेटौंडा–८ बाट वडा अध्यक्षका स्वतन्त्र तर्फका उम्मेदवार सीताराम प्रधान, हेटौंडा–४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दलित महिला सदस्यको उम्मेदवार मोहन माया देउला, हेटौंडा–१ का नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष उम्मेदवार लोक बहादुर घिसिङ र हेटौंडा–८ का राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदवार किशोर केसी खत्री र वडा सदस्य अनुजकुमार पुन मगर रहेका छन् ।

उम्मेदवारी दिने ५ जनाले नै निवेदन दिएर उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।



Author

थप समाचार
x