दलका आमसभाले हेटाैंडाकाे हुप्रचौर दुर्गन्धित, खेलाडीकाे प्रशिक्षण राेकियाे
हेटौंडा- केही दिनयता हेटाैंडा हुप्रचाैरमा राजनीतिक दलहरूले आयाेजना गरेकाे आमसभाले विभिन्न खेलका खेलाडीकाे प्रशिक्षण प्रभावित बनिरहेकाे छ । हरेक दिन जसाे हुप्रचाैरमा राजनीतिक गतिविधि हुँदा उनीहरू प्रशिक्षणबाटै बन्चित भएका हुन् ।
नेकपा एमालेले आइतबार गरेकाे आमसभाका क्रममा हुप्रचौरमा भएकाे फाेहाेर अझैसम्म पनि सफा गरिएकाे छैन । फाेहाेरकै कारण खेलाडीहरू खेल मैदानमा नगएकाे बताउँछन् । यहाँकाे फाेहाेरले हुप्रचौर आसपासमा समेत दुर्गन्धत फैलिएकाे छ ।
आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थिति थियाे । यसअघि नगर विकास समितिले हुप्रचौरमा मेला, महोत्सव तथा राजनीतिक दलका कार्यक्रममा प्रतिबन्ध लगाएकाे थियाे ।
केही साताअघि राप्रपा मकवानपुरको आयोजनामा राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा पनि हुप्रचौरमा सभा भएको थियो । यद्यपि, राप्रपाले भने कार्यक्रम भएको भोलिपल्टै हुप्रचौर सफा गरेको थियो ।
एमालेले भने कार्यक्रमपश्चात फोहोर सफाई र टेण्टका लागि बनाएको खाल्डो समेत पुरेको छैन । हुप्रचौरमा नगर विकास समितिले सार्वजनिक कार्यक्रम, मेला महोत्सव र आमसभा आयोजना गर्न रोक लगाएको थियो ।
एमालेले हुप्रचौरमा गरेको फोहोर र खाल्डोको बारेमा सामाजिक संजालमा आलोचना भइरहेको छ । हुप्रचौरमा भएको फोहोर एवं खाल्डाखुल्डीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै कसले सरसफाई गर्ने भन्दै प्रश्न गरेका थिए । उक्त तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
स्थानीयले पनि हुप्रचौरमा खाल्डो तथा फोहोर गरेकाे भन्दै विरोध गरेका छन् । ‘यो हुप्रचौर हामी सबैको सम्पति हो । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो,’ एक स्थानीयले भने, ‘केही वर्ष यस्ता कार्यक्रम भएका थिएनन् । फेरि राजनीतिक दलले हुप्रचौरलाई दुरुपयोग गर्न थालेका छन् ।’
एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले आजै खाल्डो पुर्ने र सरसफाइ गर्ने कार्यक्रम रहेको बताए । कार्यक्रम सकिएपछि पनि सरसफाई गरेकाे र कतै खाल्डो र फोहोर बाँकी रहेकाेमा त्यसलाई पनि सफा गरिने उनले बताए ।
न्युज कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया