नजिकिँदै निर्वाचन, मिचिँदै आचारसंहिता
मकवानपुर- स्थानीय तह निर्वाचन २०७९ नजिकिँदै गर्दा मकवानपुर जिल्लामा आचारसंहिता उल्लङ्घनको क्रम बढिरहेका छन् ।
स्थानीय तह निर्वाचनको क्रममा सहभागी दलबाट सरकारका प्रतिनिधित्व गरेका व्यक्ति तथा सरकारी कर्मचारीले समेत आचारसंहिता उल्लङ्घन गरेर चुनावी प्रचारमा लागेका हुन् ।
आचारसंहिता उल्लङ्घन गर्नेमा संघीय सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडा, बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, हेटौंडा नगरपालिका बहालवाल मेयर हरिबहादुर महतदेखि सरकारी लाभको पदमा रहेका व्यक्ति र सरकारी कर्मचारी, शिक्षकहरुसमेत देखिएका छन् ।
उनीहरुले आचारसंहिता विरुद्ध चुनावी सभामा मतदाता प्रभावमा पार्ने गरी भाषण गरिरहँदा सम्बन्धित निकायले कारबाहीको चासो देखाएका छैनन् । मेयर महत र सामाजिक विकास मन्त्री मोक्तानलाई आयोगले स्पष्टिकरण सोधे पनि अन्यलाई आयोगले हालसम्म पत्र काटेको छैन ।
सरकारी सेवा सुविधा लिने कर्मचारी आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारमा लागेका छन् भने प्रतिबन्धित स्थानहरुमा झण्डा राख्ने चुनाव चिन्ह बनाउने लगायतको कार्य पनि तीव्र रुपमा भइरहेको छ ।
यसैबीच बुधबार मात्रै मकवानपुरगढीका स्वास्थ्य शाखाका कर्मचारी रमिला घलानले एमाले उम्मेदवारलाई मतदान गर्न भनी चुनावी अभियानमा लागेकी छन् । उनी गाउँपालिका अध्यक्ष विदुर हुमागाईको चुनावी प्रचारमा व्यस्त रहेकी छन् । उनीसँगै वडा नम्वर ३ कार्यालयका कर्मचारी सन्जिता अधिकारी पनि वडाध्यक्ष भागवत घिमिरेको चुनाव प्रचारप्रसारमा लागेकी छन् ।
मकवानपुरगढी मात्रै नभई हेटौंडामा पनि कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलगायतका सरकारी कर्मचारीहरु आचारसंहिता उल्लंघन गर्दै चुनावी कार्यक्रममा सहभागी भएका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सामुदायिक विद्यालयका शिक्षकले आचरसंहिता उल्लंघन गर्न थालेका हुन् । सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक नै उम्मेदवारको पक्ष विपक्षमा मत माग्न व्यस्त हुन थालेका छन् ।
हेटौंडा–१३ पदमपोखरीका महेन्द्र माविका प्रधानाध्यापक विष्णु श्रेष्ठ एमाले जिताउने अभियानमा छन् । उम्मेदवारको चुनावी प्रचारमा सक्रिय छन् । उनले हेटौंडाबाट एमालेका मेयर उपमेयरसहित वडाध्यक्षका उम्मेदवारलाई मत मागेको पोष्ट आफ्नो फेसबुक एकाउन्टमार्फत शेयर गरेका छन् । नेपाली कांग्रेस निकट गणेश हुमागाईले गठबन्धनको कार्यक्रमको प्रचार आफ्नो फेसबुकबाट गरिरहेका छन् । उनी सिद्धार्थ माविमा शिक्षक हुन् ।
यसैगरी आचारसंहिता विपरीत हेटौंडा–१४ स्थित भृकुटी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक पनि स्थानीय तहका निर्वाचनका उम्मेदवारको प्रचारप्रसारमा लागेका छन् । भृकुटीका सहायक प्रधानाध्यापक प्रेमप्रसाद गौतम हेटौंडा १४ का एमालेका वडाध्यक्षका उम्मेद्वार दीपक खड्काको चुनाव प्रचारमा सहभागिताका साथै आफ्नो आधिकारिक फेसबुकमार्फत मत मागिरहेका छन् ।
निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ३ को ९ (झ) अनुसार अनुसार सामुदायिक विद्यालय वा नेपाल सरकार तथा प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्व विद्यालय तथा सो मा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले सामाजिक सञ्जालमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश सूचना वा प्रचार प्रसारका सामाग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था रहेको छ ।
सडक डिभिजनका कर्मचारी भरत नेपाल पनि नेकपा एकीकृत समाजवादीबाट गठबन्धनको उम्मेदवार जिताउन लागि परेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका अधिकृत हिम शर्मा पौडेल गठबन्धनको कार्यक्रममा नियमित भाषण दिइरहेका छन् । भने कर्मचारी रुपा बिडारी पनि गठबन्धनको कार्यक्रममा लगातार लागिपरेकी छिन् ।
सो आचारसंहिताको उल्लंघन गर्दै हेटौंडाको प्रतिष्ठित सामुदायिक विद्यालय आधुनिक राष्ट्रिय माविका शिक्षक सोम आचार्यले पनि एमालेबाट हेटौंडाका मेयर र उपमेयरको उम्मेदवारसँग चुनाव प्रचारमा पुगी फोटो खिचाएको सामाजिक सञ्जालमा भेटिएको छ ।
हेटौैंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका माध्यमिक तह सामाजिक शिक्षक बालकुमार श्रेष्ठले पनि आफ्नो फेसबुक एकाउन्टमार्फत एमाले हेटौंडाका मेयर र उपमेयरका उम्मेदवारका पक्षमा मत मागेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । भीमफेदी स्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षक कृष्ण पोखरेल पनि एमाले हेटौंडाका मेयर र उपमेयरका उम्मेदवारको प्रचारमा लागेका छन् । उनले एमाले कार्यकर्ताले हालेको स्टाटस आफ्नो फेसबुक एकाउन्टमार्फत शेयर गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया