बागमती

मकवानपुरमा निर्वाचन तयारी पूरा, झण्डै ४ हजार सुरक्षाकर्मी र ३ हजार कर्मचारी परिचालन हुँदै

इकागज |
बैशाख २७, २०७९ मंगलबार १८:२७ बजे

मकवानपुर । आगामी शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को लागि मकवानपुरमा निर्वाचन आयोगले तयारी पूरा गरेको छ । जिल्लाका सबै मतदान केन्द्रहरुमा आवश्यक सबै तयारी पूरा भईसकेको बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले बताए ।

आज जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीहरू, सुरक्षाकर्मीहरू, कर्मचारीहरू पुगिसकेका छन् । मंगलबार साँझसम्ममा सबै मतदान केन्द्रमा निर्वाचन सामग्री तथा जनशक्ति पुगिसकेको रिपोर्टिङ प्राप्त भएको उनले बताए । निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि निर्वाचन मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा निर्वाचन आयोगले जारी गरिएको आचारसंहिता पालना गर्नुपर्नेछ । यदि आचारसंहिता विपरित कार्य भएमा निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न सकिने र आयोगले कारबाही गर्न सुरु गर्ने पोखरेलले बताए ।

निर्वाचन मौन अवधिमा राजनीतिक दलहरुले कुनै खालको प्रचारप्रसारका कार्य, आमसभा, र्‍याली, जनतालाई प्रलोभन पार्ने खालको कार्यहरु गर्न पाइने छैन । नेता कार्यकर्ताहरूले घरदैलो कार्य पनि गर्न पाउने छैनन् ।

निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न १ सय ६५ मतदान स्थलका लागि २ हजार ८ सय ३८ कर्मचारी खटाएको उनले बताए । जसमा १ हजार ७७० जनालाई आयोगले खटाइएको र १ हजार ६८ जनालाई स्वयमसेवकको रुपमा खटिएको हो ।

निर्वाचन सुरक्षाका लागि सरकारले १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाइने मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए । मतदान केन्द्र भित्र सुरक्षा प्रदान गर्न प्रहरी खटिने र मतदान केन्द्र बाहिर सेना खटाइनेछ ।

निर्वाचनमा सहभागी हुँदा कसैको दबाब र प्रभावमा नपर्न मतदातालाई उनले आग्रह गरे । यदि त्यस्तो भएमा आयोगमा सम्पर्क गर्न उले आग्रह गरेका छन् । आयोगको काम निष्पक्ष, भयरहित ढङ्गबाट निर्वाचन कार्यलाई सफल बनाउने र सम्पन्न गराउने रहेको उनले बताए ।

आखाँको समस्या र हात नचल्ने बृद्धाबृद्धा, अपाङ्गहरुले आफ्नो घरका सदस्यलाई लिएर मतदान गराउन सकिने छ। यदि विश्वास नलाग्ने सदस्यहरु भएमा निर्वाचन अधिकृतलाई सम्पर्क गरेर आफूलाई मन लागेको उम्मेदवारलाई मतदान गर्न सकिने कानुनी प्रावधान रहेको उनले बताए । मतदानमा सहभागी हुन मतदाता परिचय पत्र सबै मतदान केन्द्रमा पठाएको र २८ र २९ गते वितरण गरिने उनले बताए ।

मकवानपुरमा २ लाख ९ ४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।

मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगर पालिका रहेका छन् । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् । यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेका छन् । 



Author

थप समाचार
x