बागमती

म सपना बाँड्न होइन, काम गर्न उम्मेदवार बनेको हो : नेत्री सिंह

इकागज |
बैशाख २७, २०७९ मंगलबार २१:५१ बजे

फाइल फोटो

काठमाडौँ - पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आफू सपना बाँड्न नभई काम गर्न महानगर प्रमुखको उम्मेदवार बनेको बताएकी छिन् । 

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘चुनावी सभा’मा उनले काठमाडौँको विकासका लागि आफूले ठूला सपना नबाँडेको बताउँदै आफूले अगाडि सारेको सङ्कल्प पत्रअनुसार काम गर्ने उल्लेख गरे । 


“स्वच्छ, सफा र हराभरा महानगर निर्माण गर्नका लागि म काठमाडौँवासीको अभिभावक बन्न चाहन्छु, काठमाडौँलाई ‘महान् घर’ बनाउन चाहन्छु”, उनले भने । उनले २५ वर्ष पहिलेका प्रमुख पिएल सिंहले सारेको परिकल्पनालाई पूरा गर्ने विश्वाससमेत व्यक्त गरिन् । 

नेत्री सिंहले काठमाडौँभित्रको खाल्डाखुल्डी र धुलोधुवाँको समस्या समाधान गर्दै फोहोर व्यवस्थापन घरबाटै सुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । 

काठमाडौँभित्र देखिएको भद्रगोल ट्राफिकलाई व्यवस्थित बनाउँदै सबैलाई सार्वजनिक यातायात चढ्ने वातावरण निर्माण गर्ने उनको भनाइ थियो ।

महागरनगर प्रमुखका उम्मेदवार सिंहले फुटपाथ व्यवसायलाई व्यवस्थित, ठूला सडकमा ‘साइकल लेन’को व्यवस्था, बागमती, विष्णुमती, रुद्रमतीलगायतका नदीलाई व्यवस्थित बनाउने, निम्न आय भएका महिलालाई विशेष राहत भत्ताको व्यवस्था गर्ने बताइन् । 

यस्तै विदुर पुरुषहरुका लागि विशेष राहतको व्यवस्था, बेरोजगार युवाहरुलाई रोजगारको व्यवस्था, युवालाई उद्यमी बनाउने, प्रत्येक वडामा कोसेली घर निर्माण, युवाहरुलाई खेलकुदप्रति आकर्षण गर्न विभिन्न किसिमका प्रतियोगितासमेत सञ्चालन गर्ने उनको भनाइ छ ।
रासस


Author

थप समाचार
x