गण्डकी

प्रहरी निरीक्षक मंगल श्रेष्ठको नेतृत्वमा दुर्घटनास्थल पुगे सुरक्षाकर्मी

इकागज |
जेठ १६, २०७९ सोमबार ९:२६ बजे

म्याग्दी- तारा एयरको जहाज दुर्घटना भएको स्थानमा हेलिकोप्टरबाट सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् । 

कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए ।  विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा प्रहरी निरीक्षक मङ्‍गल श्रेष्ठसहित पथ प्रदर्शक पुगिसकेका छन् ।


'पैदलमार्गबाट गएका करिब १०० को सङ्ख्यामा रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थल नजिकै पुगेको छ', उनले भने, 'पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेका छन् ।' 

यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेनासहित , फिस्टेल र कैलाश एयरको एक/एक हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताए । 

मौसम खुलेको अवस्थामा एक हेलिकप्टरले उडान गरेर उद्धारकर्तालाई घटनास्थलमा छोडेर नाउरीकोट आएको छ । कुहिरो हट्नै बित्तिकै हेलिकप्टरबाट थप उद्धारकर्ता पठाउने तयारी गरिएको छ । 

थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको छ । कुहिरो लागेको र प्रतिकुल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन् । 

यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडौँबाट सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए । 

पोखराबाट बिहान ९:५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । स्थानीयका अनुसार कोवाङमाथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको जनाइएको छ । 

जहाजमा चालक दलका तीन र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२  नेपाली, चार  भारतीय र दुई जर्मनी नागरिक थिए । उनीहरुको अवस्था अहिलेसम्म नखुलेको प्रशासकीय अधिकृत पाण्डेले बताए । 

र, यो पनि


Author

थप समाचार
x