बागलुङमा असारे विकास धमाधम
बागलुङ - बागलुङमा असारे विकासको नियति अझै फेरिन सकेको छैन । असार लागेपछि विकासका योजना धमाधम हुँदै आएका छन् । सरकारले असारे विकासको अन्त्य गरी वैशाख÷जेठ महिनामै सबै योजना सक्ने लक्ष्य लिइँदै आए पनि बागलुङमा यसको कार्यान्वयन हुन सकेको छैन ।
वर्षात्मा हुने विकास बजेट सक्ने बाहेक प्रभावकारीरुपमा विकास हुन सकेको छैन । स्थानीय सरकारदेखि केन्द्र र प्रदेश सरकार असारे विकासतर्फ गम्भीर बनेको पाइँदैन ।
बागलुङमा चालु आर्थिक वर्षको विकास बजेट खर्च हेर्दा असार महिनामा मात्रै सबैभन्दा बढी खर्च भएको पाइन्छ । असार २० सम्मको विकास बजेट खर्च हेर्दा २० दिनमै रु २० करोड १८ लाख ४९ हजार ४१२ खर्च भएको छ ।
जेठ महिनासम्मको जम्मा खर्च हेर्ने हो भने रु आठ अर्ब २० करोड ३६ लाख ८१ हजार ५६१ छ । असार २० सम्मको खर्च बढेर रु अर्ब ४० करोड ५५ लाख ३० हजार ९७३ पुगेको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका अनुसार जेठ महिनासम्म चालु बजेटतर्फ रु छ अर्ब ७१ करोड १९ लाख ४४ हजार २१० रकम खर्च गरेको छ । जुन ९१.६५ प्रतिशत हो । यसमध्ये पुँजीगत खर्चतर्फ रु एक अर्ब ४९ करोड १७ लाख ३७ हजार ३५१ रहेको छ । जुन ५४.९२ प्रतिशत हो ।
जेठ मसान्तसम्म रु आठ अर्ब २० करोड ३६ लाख ८१ हजार ५६१ खर्च भएको छ । जुन ७१.३६ प्रतिशत हो । असार २० गतेसम्म चालुतर्फ रु १८ करोड ८६ लाख ७९ हजार ४१२ र पुँजीगततर्फ रु एक करोड ३१ लाख ७० हजार खर्च भएको छ । केन्द्र र प्रदेश सरकारबाट प्राप्त भएको बजेटबाट जिल्लास्थित सरकारी कार्यालयले उक्त बजेट खर्च गरेका हुन् ।
बजेट खर्चको आँकडालाई हेर्दा बागलुङमा असारे विकास रोकिएको पाइँदैन । २० दिनमै रु २० करोड खर्च हुनलाई सरोकारवाला निकायले गम्भीर रुपमा लिनुपर्ने देखिन्छ । केही योजना ढिलानै सम्झौता गर्नु पर्ने बाध्यता भए पनि यो समस्या समाधान भने तत्कालै गर्नुपर्ने देखिन्छ ।
सो कार्यालयका लेखा नियन्त्रक जब्बरबहादुर भण्डारीले विगतको प्रवृत्ति दोहोरिएको जनाउँदै संघ र प्रदेशअन्तर्गतका योजनाको काम हुने त अन्तिममा आएर फरफारक गर्ने हुँदा असारमा बढी खर्च हुने गरेको बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया