गण्डकी

पोखराका पूर्व मेयरले सुटुक्क दिएको जग्गाको ठेक्का रद्ध गर्ने तयारी

धनबहादुर गुरुङ |
असार २३, २०७९ बिहीबार १४:३० बजे

पोखरा । पोखरा महानगरका पूर्व मेयर मानबहादुर जिसीले एक्लै निर्णय गरेर निजी क्षेत्रलाई दिएको जग्गाको सम्झौता खारेज गर्ने तयारी थालिएको छ । उक्त जग्गामा विवाद भएपछि नगर विकास समितिले शनिबार बोर्ड बैठक आह्वान गरेको छ । 

पोखरा उपत्यका नगर विकास समितिका तत्कालीन अध्यक्षसमेत रहेका जिसीले समिति सदस्य र कर्मचारीलाई समेत लुकाएर सम्झौता गरेको भन्दै उक्त सम्झौता खारेज हुने पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत तथा समितिका सदस्यसचिव बलराम रिज्यालले बताए । आइतबारसम्म ३ वटै ठेक्का रद्ध गर्ने उनको भनाई छ । अपारदर्शी हिसाबले गरेको ठेक्का सम्झौता खारेज गर्नका लागि शनिबार बैठक बोलाएको उनले जानकारी दिए । ठेक्का खारेज गरेर उच्चस्तरीय छानबिन समिति बनाएर अघि बढ्ने र समितिले निकालेको प्रतिवेदन अनुसार थप प्रक्रियामा जाने उनले सुनाए ।  


जिसीले जेठ ३ गते अपारदर्शी हिसाबले गल्फ कोर्समा रहेको ४० रोपनी, पर्यटन बसपार्कको १८ रोपनी र यातायात व्यवस्था कार्यालय आडमा रहेको ५ रोपनी जग्गा सुटुक्क निजी कम्पनीलाई दिएको खुलेको छ । नगर विकास समितिको नाममा पोखराको विभिन्न ठाउँमा रहेका ६३ रोपनी बहुमूल्य जमिन आफ्नै ज्वाइँका भाइ र नजिकका ठेकेदारहरूलाई ठेक्का दिएको खुल्न आएको छ । 

टेण्डर खोल्दा जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रकको कार्यालयलगायत विभिन्न सरकारी संघसंस्थाका प्रतिनिधिको उपस्थिति हुनुपर्छ । तर, ३ वटै टेण्डरमा कसैलाई पनि उपस्थिति नगराइएको रिज्यालले बताए । 

यसैबीच, निवर्तमान मेयर जिसीले बुधबार विज्ञप्ति निकालेर समितिको जग्गा भाडामा लगाइएकोबारे सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमार्फत उनले समितिको स्वामित्वमा रहेको राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्षको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा ‘सेटिङ’  मिलाएर भाडामा दिइएको भन्ने आरोप निराधार भएको बताएका छन् । ‘पोखरा उपत्यका नगर विकास समितिको संस्थागत हितलाई नै ध्यानमा राखेर प्रचलित नियम, कानुन र विधि अनुसार नै जग्गा भाडामा लगाइएको हो,’ जिसीले निकालेको विज्ञप्तिमा भनिएको छ । 
 


Author

थप समाचार
x