कास्कीका किसानलाई मल अभावले सास्ती
पोखरा– धान लगाउने मध्य सिजन सकिँदासम्म मल नपाउँदा कास्कीका कृषकहरुले हैरानी ब्यहोरेका छन् । सरकारले मल आपुर्ति नगरेका कारण कृषकहरु धान लगाउने सिजनमा मल विना नै खेती लगाउन बाध्य भएका हुन् ।
पोखरा २५ हेम्जाका कृषक एकबहादुर कार्कीले असार सकिएको हप्ता दिन बितिसक्दा पनि खेतमा मल हाल्न नपाएको गुनासो गरे । उनले धानका लागि आवश्यक पर्ने यूरिया मल नपाउँला उनले हैरानी खेपेका छन् । चैतमा नै आफूले यूरिया मल नपाएको उनको गुनासो छ । सरकार कै कारण मल नपाएको उनले बताए । ‘मल नपाएको त चैतबाटै हो,’ उनले भने, ‘मल नहुँदा यो पटक धान उत्पादन मै कमी हुने हो कि भन्ने चिन्ता छ ।’
पोखरा १६ अर्मलाका प्रशान्त आचार्य पनि समयमै धान रोपाइँ सकिएपनि मल कै पीडामा रहेको बताउँछन् । ‘हुन त प्राङ्गारिक मल हाल्नुपर्ने हो तर सुरुमा धान हुर्काउन यूरिया उत्तम हुन्छ,’ उनले भने, ‘हामीले बजारको मल सधैं प्रयोग गर्ने त होइन तर सुरु अलि अलि हाल्दा राम्रो हुने भएकाले हाल्ने हो यो पटक त पाइएकै छैन।’
जिल्लामा कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रडिङले मल विक्री गर्दै आएका छन् । कृषि सामाग्री कम्पनी लिमिटेडले प्रदेशका ११ वटै जिल्लामा मल विक्री गर्दै आएको लिमिटेडका शाखा प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए ।
‘यो सिजनमा जिल्लाका लागि यूरिया, डिएपी र पोटास गरेर एक हजार ५ सय ६० मेट्रिक टन मल आवश्यक पर्छ’, उनले भने, ‘मुस्किलले बफर स्टकमा रहेको ४२ मेट्रिक टन पाउने भएका छौं त्यही पनि डिपिए मल हो यूरिया मल आउन अझै केही समय लाग्ला ।’ माग गरिएपनि मल उपलब्ध नभए पछि कृषकहरु मल विना खेती गर्न बाध्य भएको उनले सुनाए । कृषि सामाग्री कम्पनीले बफर स्टकमा भएको मल आएपछि केही दिनमा बाड्ने तयारी थालेको उनले जानकारी दिए ।
साउनको १५ सम्म यूरिया मल नेपाल भित्रने गरी सम्झौता भएको लिमिटेडका शाखा प्रमुख बास्तोलाले जानकारी दिए । ‘हाम्रो प्रबन्ध सञ्चालक भारत गएर १५ हजार मेट्रिक टन यूरियाका लागि सम्झौता गरेर आउनुभएको छ,’ उनले भने, ‘प्रबन्ध सञ्चालकले दिएको जानकारी अनुसार साउन १५ गतेसम्म मल नेपाल झरिसक्छ भन्ने हो।’ बफर स्टकमा रहेको डिएपी मल मध्ये ३ सय मेट्रिक टन अबको एक हप्ताभित्रमा बाँड्ने सहमति भएको उनले जनकारी दिए । बफर स्टक मध्ये विरगञ्ज भन्सारमा ७ सय मेट्रिक टन र भैरहवामा ६ सय मेट्रिक टन मल रहेको उनको भनाई थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया