गण्डकी

पोखराका पूर्वमेयरले भाडामा दिएको जग्गाबारे छानबिन गर्न समिति गठन

धनबहादुर गुरुङ |
असार २६, २०७९ आइतबार ८:४७ बजे

पोखरा - पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले नगर विकासको जग्गा सुटुक्क जग्गा भाडामा दिएको विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । प्रक्रिया मिचेर दिएको ६३ रोपनी जग्गाका विषयमा छानबिन गर्न पोखरा उपत्यका नगर विकास समितिले समिति गठन गरेको हो ।

शनिबार बिहान बसेको समितिको बैठकले नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिको सदस्यमा सदस्यमा पोखरा ५ का अध्यक्ष विष्णु बराल, एकीकृत समाजवादीका उपाध्यक्ष झपिन्द्रराज रेग्मी, नेपाली कांग्रेसका सचिव देवेन्द्र रानाभाट र कानुन व्यवसायी सुकदेव गौतम रहेका छन् ।


पोखरा महागरबाट बिदा हुँदै गर्दा मेयर जिसीले पोखरा पर्यटन बसपार्कको १८ रोपनी जग्गा, गल्फ एकेडेमीको ४० रोपनी र बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडिको ५ रोपनी जग्गा सुटुक्क भाडामा दिएका थिए । चौतर्फी विरोधपछि जिसीले विज्ञप्ति जारी गर्दै विधि र प्रक्रिया भए नभएका छानबिन गरी खारेज गर्नसक्ने चुनौती पनि दिएका थिए । समिति स्रोतका अनुसार छानबिन समितिलाई एक हप्ताभित्र प्रतिवेदन दिने कार्यादेश दिइएको छ ।

पूर्व मेयर जिसीले १८ रोपनीकोे पर्यटन बसपार्क शिला शालिग्राम निर्माण सेवा प्रालिलाई दिएका हुन् । जसको भाडा मासिक २ लाख ७५ हजार रहेको छ भने १० वर्षका लागि सम्झौता गरिदिएका हुन् । सम्झौता पत्रमा प्रथम पक्षका तर्फबाट पुर्व मेयर जिसी र देस्रो पक्षका तर्फबाट छविलाल कुँवरले हस्ताक्षर गरेका छन् । 

यस्तै, गल्फ कोर्स एक्सन बिल्डर्सलाई दिएका छन् । उनले सो जग्गा मासिक २ लाख ७२ हजार भाडा तिने गरी सम्झौता गरेका छन् । ४० रोपनी भाडामा लिनेदिनेबारे सम्झौतामा दोस्रो पक्ष कम्पनीका तर्फबाट विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् ।

उता, यातायात कार्यालयले यसअघि सवारी ट्रायल परीक्षाका लागि प्रयोग गर्दै आएको ५ रोपनी राइजिङ कन्स्ट्रक्सनलाई १० वर्षका लागि भाडामा दिइएको खुलेको छ। मासिक १ लाख ३५ हजार बुझाउने गरी कम्पनीका तर्फबाट गिरबहादुर पुनको हस्ताक्षर छ ।

यो पनि 

जाँदाजाँदै पोखराका मेयर जिसीले सुटुक्क दिएका थिए जग्गा भाडामा

 


Author

थप समाचार
x