गण्डकी

गण्डकी रत्‍नबाट महाविर पुन विभूषित

धनबहादुर गुरुङ |
असार २७, २०७९ सोमबार ११:५६ बजे

पोखरा । गण्डकी प्रदेश सरकारले यो वर्ष ‘गण्डकी रत्न’बाट म्याग्दीका महाविर पुनलाई विभूषित गरेको छ । गण्डकी प्रदेश सरकारको स्थापना दिवस माघ फागुन ४ गते घोषणा गरिएको गण्डकी रत्नबाट पुनलाई सोमबार आन्तरिक मामिला मन्त्रालयको आयोजनामा भएको एक समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सम्मान गरेका हुन् ।

प्रदेश सरकारले बनाएको विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ अनुसार घोषणा गरिए अनुसार पुनलाई प्रदेश प्रमुख गुरुङले पदक (तक्मा), सम्मान पत्र र दोसल्लाले विभूषित गरेका हुन् । प्रदेश सरकारले बनाएको सिफारिस समितिले छनोट गरेका तीन जनालाई सम्मान गर्ने भनिएपनि पहिलो वर्ष एक जनालाई मात्र सम्मान गरिएको हो । शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधिलगायत क्षेत्रमा योगदान पुर्‍याएकामध्ये तीन जनालाई सम्मान गरिने कार्य विधिमा उल्लेख भए अनुसार यो पटक विज्ञान, प्रविधि र आविष्कार क्षेत्रका पुनलाई सम्मान गरिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।


सम्मानपछि पुनले विशिष्ट व्यक्तिका रुपमा सम्मान गरेपनि आफू कहिल्यै विशिष्ट रुपमा नरहने बताएका छन् । आफूलाई सधैं साधारण र सरल व्यक्तित्वका रुपमा चिनाउन चाहेको भन्दै विशिष्ट व्यक्तित्व पानामा मात्रै सिमित राख्न उनको आग्रह थियो । आफूले पाएको सम्मान आविष्कार केन्द्रको भएको उनको जिकिर थियो।

पुनले आविष्कार सञ्चालनका लागि सरकारले कम्तीमा १ प्रतिशत छुट्याउनुपर्ने धारणा राखे । ‘आर्थिक स्रोत जुटाउनका लागि मैलै सबैतिर भन्ने एउटै कुरा हो । त्यो हो सरकारले आफ्नो पुँजीगत बजेटको एक प्रतिशत बजेट आविष्कार र विकासका लागि छुट्याउनुपर्छ,’ उनले भने, ‘माग गरेको धेरै होइन त्यही कारण पनि संघ, प्रदेश र स्थानीय सरकारले एक प्रतिशतमा कन्ज्यू्स्याईं गर्न हुदैन ।’ सरकारले बजेट नछुट्याएका कारण नै आफ्नो राष्ट्रिय आविष्कार केन्द्र सहयोग र अनुदानबाट चलेको उनले सुनाए । देशको अर्थतन्त्र उकास्न आविष्कार केन्द्रको महत्वपूर्ण भूमिका रहने उनको धारणा थियो । त्यसकारण पनि पोखरा विश्वविद्यालयले थालनी गरेको केन्द्र देशभर मै नमुना बन्नुपर्नेमा जोड दिए । आविष्कार केन्द्रलाई तालिम केन्द्र नभएर रिसर्च गरेर उत्पादन गरी व्यावसायीकरण गर्नुपर्ने उनको भनाई थियो । 

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आविष्कारका क्षेत्रमा अझै नयाँ नयाँ आयाम थप्न पुनलाई आग्रह गरेका थिए । भने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुनकै सल्लाहमा गण्डकी प्रदेशले गण्डकी विश्वविद्यालय मातहत गण्डकी आविष्कार केन्द्र स्थापना गरेको बताए । उनले यो वर्ष गण्डकीमा आविष्कार केन्द्रका लागि १० करोड बजेट छुट्याएको जानकारी दिए ।

पुन अहिले राष्ट्रिय आविष्कार केन्द्रमार्फत विज्ञान र प्रविधिको क्षेत्रमा क्रियाशील छन् । सन् १९५५ जनवरी २२ मा म्याग्दीको नागी गाउँमा जन्मिएका पुन सन् १९८९ मा नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर गरेका हुन्। स्नातकोत्तर पूरा गरेपछि २४ वर्षपछि जन्म गाउँ फर्किएर कम्प्युटर शिक्षा र आय स्रोत वृद्धिलाई ध्यानमा राखी आफ्ना योजना अगाडि बढाएका थिए । 

उनले सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत देश विकासका सम्भावनाको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफा रहित संस्था ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरेर प्रविधिको खोजी र अनुसन्धानमा तल्लीन रहँदै आएका छन् । 

‘गण्डकी रत्न’ पाएकाले के के सुविधा पाउँछन् ?

गण्डकी रत्न विभूषित हुँदा तक्मा र प्रमाणपत्र दिइने छ । त्यसपछि पाउने सुविधा भने आकर्षक छन् । विभूषित व्यक्तित्वलाई प्रदेश सरकारले आयोजना गर्ने सार्वजनिक सभा–समारोहमा प्रदेशसभा सदस्यसरह मान्यता र सुविधा दिने व्यवस्था कार्यविधिले गरेको छ । प्रदेश सरकार मातहत रहेका अस्पतालमा तोकिए बमोजिम सुविधा हुनेछ । यस्तै प्रदेश भित्र सञ्चालित विमानस्थलमा विशिष्ट कक्षको सुविधा, सार्वजनिक सेवा प्राप्त गर्न विशेष प्राथमिकता र संरक्षण विहिन भएमा प्रदेशले सम्मानित व्याक्तिको संरक्षण गर्ने कार्यविधिमा तोकिएको छ । 


Author

थप समाचार
x