गण्डकी

गण्डकीमा ६२ प्रतिशत रोपाइँ, अझै मल आउने टुंगो भएन

धनबहादुर गुरुङ |
असार २८, २०७९ मंगलबार १२:५९ बजे

पोखरा । गण्डकी प्रदेशमा ६२ प्रतिशत रोपाइँ सकिएको छ । आधा भन्दा बढी रोपाइँ सकिदासम्म किसानहरु भने मल अभावको समस्या झेलिरहेका छन् । 

प्रदेशको धान खेती हुने १ लाख ३ सय १० हेक्टर क्षेत्रफल मध्ये ६२ हजार ५ सय १० हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त प्रमुख बासुदेव रेग्मीले जानकारी दिए ।


उल्लेख्य रुपमा धान रोपाइँ सकिएपनि कृषकले मल नपाएको गुनासो गरिरहेको उनले सुनाए । ‘धेरै कृषकले धान लगाईसके अरु समस्या सुनाउँदैनन्,’ उनले भने, ‘सबैले मल पाएन मात्र भन्छन्, हामी कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङलाई भनिरहेका छौं आउने ठाउँबाटै आएको छैन अब के भन्ने ।’ अझै केही ठाँउमा रोपाइँ चलिरहेकाले प्रदेशमा ९५ प्रतिशतसम्म रोपाइँ हुने उनको अनुमान छ । गत वर्ष यही समयमा ३६ प्रतिशत रोपाइँ भएको थियो ।

प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा धान खेती हँुदैन । यसबाहेक म्याग्दीको अधिकांश क्षेत्र हिमाली क्षेत्रमा पर्ने भएका कारण पनि कम मात्रामा धान उत्पादन हुन्छन् । म्याग्दीको ३ हजार ८ सय ३० हेक्टर धान खेती हुने क्षेत्र मध्ये ४० प्रतिशत अर्थात १ हजार ५ सय ३२ हेक्टरमा रोपाइँ भइसकेको छ । प्रदेशको धान खेती हुने ९ जिल्ला मध्ये सबैभन्दा बढी कास्कीमा ८० प्रतिशत रोपाइँ सकिएको छ ।

त्यसपछि नवलपुरमा ७० प्रतिशत सकिएको छ । बाग्लुङमा ६५ प्रतिशत सकिएको छ । यस्तै लमजुङमा ६२, स्याङ्जामा ६१, गोरखामा ५५, तनहुँमा ४२ र पर्वतमा ४२  प्रतिशत रोपाँइ सकिएको कृषि विकाश निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । 

यसपाली मनसुनले पनि साथ दिएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ । तर कृषकले समयमा मल नपाउँदा धान उत्पादनमा केही असर गर्ने निमित्त प्रमुख रेग्मीको भनाई थियो ।  ‘अरु ठाँउमा जस्तो धानका रोगको समस्या छैन,’ उनले भने, ‘केही जिल्लाहरुमा बाढी पहिरोको समस्या भने परेकै छ ।’ मल बाहेक अरु समस्या नरहेको उनको भनाई छ । 

यता कृषि सामाग्री कम्पनी लिमिटेडले भने यूरिया मल आउन साउन कुर्नुपर्ने बताएको छ । बफर जोन (स्टक) मा रहेको डिएपी र पोटास केही दिनमा बाड्ने सहमती भएको लिमिटेडका गण्डकी शाखा प्रमुख ठाकुर प्रसाद बास्तोलाले जानकारी दिए । यूरिया मल भने स्टकमै सकिएकाले गाह्रो भएको उनले सुनाए । साउनको १५ सम्म यूरिया मल नेपाल भित्रने गरी सम्झौता भएको लिमिटेडका शाखा प्रमुख बास्तोलाको भनाई छ ।

‘हाम्रो प्रबन्ध सञ्चालक भारत गएर १५ हजार मेट्रिक टन यूरियाका लागि सम्झौता गरेर आउनुभएको छ,’ उनले भने, ‘प्रबन्ध सञ्चालकले दिएको जानकारी अनुसार साउन १५ गतेसम्म मल नेपाल झरिसक्छ भन्ने हो ।’
 


Author

थप समाचार
x