गण्डकी प्रदेश सरकारले दिने खानाको १५ लाख रकम अस्पतालले पाएन
लमजुङ । लमजुङको बेसीशहर नगरपालिकामा रहेको लमजुङ जिल्ला अस्पतालमा बिरामीको खाना खर्च वापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा शुरु भएको विरामीलाई निशुल्क खाना बापत आर्थिक वर्ष ०७८/७९ को १५ लाख रुपैयाँ नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पाउनुपर्ने बिरामी खाना खर्च नपाउँदा गत श्रावणदेखि उधारो खाना खुवाउँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना भएका बिरामीका लागि नियमित रुपमा खाना खुवाउँदै आएपनि चालु आर्थिक वर्ष शुरु भएदेखि हालसम्म कुनै रकम नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।
अस्पतालका अनुसार गत श्रावण महिना देखि जेष्ठको तेश्रो सातासम्म अस्पतालमा भर्ना भएका चारहजार तीनसय ५१ जना विरामीहरुका लागि अस्पतालले खाना खुवाएको छ । सो अवधिमा खानाको मात्रै १४ लाख ९० हजार सातसय ६८ रुपैया पुगेको र हालसम्म रकम प्राप्त नहुँदा तिर्न नसकेको अस्पतालले जनाएको छ ।
प्रदेश सरकारसँग निरन्तर ताकेता गर्दा पनि रकम निकासा नभएको अस्पतालले जनाएको छ । विरामी खाना खर्चवापतको रकम उपलब्ध गराउन माग गर्दै तीन पटकसम्म पत्राचार गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताए ।
जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई निशुल्क खाना खुवाउने कार्यक्रम प्रदेश सरकारको भएको र प्रदेश सरकारले सोहि अनुसार बजेट व्यवस्थापन गरेपनि रकम निकासा नभएको हो । रकम निकासा नहुँदा खाना उपलब्ध गराउँदै आएका व्यक्ति निकै समस्यामा परेको अस्पताल प्रशासनले जनाएको छ । एउटै व्यक्ति करिब वर्षदिनसम्म लाखौँ रुपैया उधारो कारोवार गर्दा व्यवसायिक समस्या भएको हो ।
जिल्ला अस्पताल लमजुङमा तत्कालीन सामुदायिक अस्पताल हुदाको अवस्थामा तीन वर्ष अघिबाट भर्ना भएका विरामीका लागि निशुल्क खानाको व्यवस्था हुँदै आएको हो । बिरामीको निशुल्क खानाको लागि शुरुको वर्षमा अस्पताल रहेको स्थानिय तह बेसीशहर नगरपालिकाले केहि रकम उपलब्ध गराएको थियो । जिल्ला अस्पताल प्रदेश मातहतमा गएसँगै दायित्व पनि प्रदेश सरकारले नै लिएको हो ।
अस्पताल प्रदेश सरकार मातहत आउनुअघि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भएका बिरामीहरुलाई नियमित दुई छाक खाना खुवाउन शुरु गरेको हो । अस्पतालले बिरामीको अवश्यकता र चिकित्सकको सल्लाह अनुसार बिहान र बेलुका निशुल्क खाना उपलब्ध गराउँदै आएको थियो ।
बिरामीहरुलाई सामान्यतया दाल भात, अण्डा वा जाउलो व्यवस्था गर्दै आएको छ । अस्पताल भित्रै सञ्चालन गरिएको क्यान्टिनबाट सो सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले बिरामीलाई खानाको व्यवस्था गरेपछि आफन्तहरुलाई बाहिर होटल खोज्नुपर्ने खाना ओसार्नुपर्ने जस्ता झन्झट हटेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया