गण्डकी

सातौँ अधिवेशन

एमाले–कांग्रेसको 'ब्याटल ग्राउन्ड' बन्यो गण्डकी प्रदेश सभा

इकागज |
चैत २७, २०७७ शुक्रबार १८:४३ बजे

पोखरा : गण्डकी प्रदेश सभाको सातौँ अधिवेशनको सुरुआतदेखि नै नेकपा एमाले र कांग्रेस सांसदबीच भनाभन भइरहेको छ । पहिलो बैठकमै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले समस्या बल्झाउने तत्व कम्युनिस्ट मात्रै रहेको बताएपछि सोही दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेसमाथि फायर खोलेका थिए । 

दोस्रो दिनको बैठकमा कांग्रेस सांसद मेखलाल श्रेष्ठले मुख्यमन्त्री गुरुङलाई कडा प्रतिउत्तर दिए । शुक्रबारको तेस्रो बैठकमा पनि सांसदहरू बाझाबाझ गरिरहे । प्रदेश सभामा पेस भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा पनि सांसदहरू दोषारोपणमै अल्झे । 


शुक्रबारको बैठकमा बोल्दै एमाले सांसद राजीव पहारीले कांग्रेस सांसदप्रति कडा कटाक्ष व्यक्त गरे । कांग्रेसले भ्रष्टलाई फुलमालाले जयजयकार गर्ने पद्धति बसालेपछि प्रदेशमा आर्थिक कार्यविधि तथा वित्त सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक ल्याउनु परेको बताए । भ्रष्टाचारको विरोधमा कांग्रेसले बोल्दा बोल्नेलाई भन्दा सुन्नेलाई लाज हुने गरेको पहारीले थपे । ‘मैले नाम बिर्सें, अनुहार देखिरहेछु, उहाँहरुले भ्रष्टाचारविरुद्ध बोल्दा बोल्नेलाई भन्दा सुन्नेलाई लाज भयो,’ उनले मेखलाल श्रेष्ठलाई इंगित गर्दै भने । श्रेष्ठलगायत कांग्रेस सांसदहरु आफैं वकिल र न्यायाधीशको भूमिकामा बसेको उनले बताए । 

पहारीले संसदमा कविता नै सुनाएर कांग्रेस नेकपा एमाले सरकारको काम देखेर जलिरहेको बताए । गण्डकी प्रदेश सरकार जवाफदेही, जनउत्तरदायी भएको र दिन २ गुना र रात चौगुनाका दरमा विकास गरेको उनले उल्लेख गरे । ‘जुन गोरुको सिङ छैन, उसकै नाम तिखे भनेझैं जसका नेताहरु भ्रष्टाचारमा मुछिएर जेलमा छन्, उसैले भ्रष्टाचार बारे सिकाउने ?’ उनले जोेडे । 

पहारीपछि सभामुख नेत्रनाथ अधिकारीले कांग्रेस नेता कुमार खड्कालाई रोस्टममा डाके । यसअघि विषयवस्तुलाई धेरै ख्याल गर्दै विषयान्तर नगरी बोल्ने स्वभावका खड्का शुक्रबार भने एमाले र सांसद पहारीमाथि खनिए । सांसद खड्काले एमाले सांसद पहारीले अहिले सरकारमा मन्त्री पद प्राप्तिका लागि मुख्यमन्त्री गुरुङको बारेमा लय हालेर समर्थन गरिरहेको बताए । ‘तिहारमा केही पाउन लय हालेर देउसी गाइन्छ, अहिले २ पद मन्त्री खाली छ, लय हालेर गाउनुस्, मन्त्री खानुुहुन्छ होला शुभकामना छ,’ खड्काले पहारीलाई भने । खड्काले पहारीकै शब्दमा दिन १०० गुना र रात २०० गुना बोले मन्त्री पद पाउने सुझाव दिए । 

मुख्यमन्त्री गुरुङप्रति पनि सांसद खड्का शुक्रबारको बैठकमा आक्रामक देखिए । अहिलेसम्म मुख्यमन्त्री गुरुङलाई आफूले स्वच्छ अभिभावक पाएपनि सातौं अधिवेशनको सुरुआतबाट मुख्यमन्त्री गुरुङको ‘नकाब’ खुलेको उनले बताए । ‘बकुल्लाको रुपमा काग बसेको रहेछ, आवाज पनि त्यस्तै निकाल्ने गरी, एकपटक के बर्खा भएको थियो, रुप खुली हाल्यो, क्वाँक्वाँ गर्न थालिहाले,’ मुख्यमन्त्रीप्रति खड्काको कटाक्ष थियो । एउटा संगठन केही व्यक्तिकै कारण भ्रष्ट बन्न नसक्ने उनको टिप्पणी थियो । ‘रुखमा केही फल कुहिन सक्छन् तर रुख नै काट्नु हुँदैन, कांग्रेसलाई भ्रष्टको पार्टी भन्न मिल्दैन, यो लाखौंको रगत पसिनाले बनेको पार्टी हो,’ खड्काले भने । 


Author

थप समाचार
x