गण्डकी

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

इकागज |
चैत २८, २०७७ शनिबार ७:१० बजे

फाइल तस्बिर

लमजुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन् । मुख्यमन्त्री गुरुङले शुक्रबार बेँसीशहर-१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ-आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताए । 

वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भने, 'एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ । उनीहरुको अवस्था सजिलो छैन ।' उनले  गण्डकी प्रदेश सरकार पनि बलियो रहेको बताए ।


मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरको बताए । मुख्यमन्त्री गुरुङले भने, 'समृद्धिका लागि जग बसालेका छौँ । थप नतिजा छिट्टै देखिन्छ ।' उनले गण्डकी प्रदेश सरकारले सभ्य समाज र समृद्ध प्रदेश बनाउने अभियानका साथ काम गरिरहेको बताए । ग्यासको सट्टामा बिजुलीको चुलो वितरण गर्न लागेको, प्रदेशमा चक्लाबन्दीको अभियान थाल्न लागेको उनको भनाइ छ ।

 मुख्यमन्त्री गुरुङले भने, 'रु ३५ अर्बमध्ये २० अर्ब भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले खर्च गर्दै बढीभन्दा बढी प्राथमिकतामा दिँदै आइरहेको छ । गण्डकी प्रदेशमा पाँच लाख ७८ हजार घरधुरी रहेकामा यसै वर्षभित्र विद्युत् नपुगेका घरधुरीमा विद्युत् पुर्‍याउँछौँ । अर्को वर्ष आधारभूत खानेपानी नपुगेका सबै घरधुरीमा एक घर एक धारा पुग्छ,' उनले भने ।

मुख्यमन्त्री गुरुङले बेँसीशहर नगरपालिकाले बेँसीशहर-१ स्थित प्रवेशद्वारमा निर्माण गरेको प्रवेशद्वार, उदिपुर-डिही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रदेश सरकार र स्थानीयवासीको सहकार्यमा निर्माण गरेको एक घर एक धारा र जनकल्याण माध्यमिक विद्यालयको चार कोठे भवनको एक दिन उद्घाटन गरेका थिए । तीनवटै आयोजनाको उद्घाटनपछि संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो ।

बेँसीशहर नगरपालिकाले करीब २२ लाखमा डुम्रे-बेँसीशहर सडक खण्डको उदिपुरमा प्रवेशद्वार निर्माण गरेको हो । त्यस्तै ६२३ घरधुरी लाभन्वित हुनेगरी निर्माण सम्पन्‍न भएको उदीपुर-डिही खानेपानी रु दुई करोड ९८ लाख ३६ हजारको लागतमा सम्पन्‍न भएको हो । त्यसैगरी जनकल्याण माध्यमिक विद्यालयको चार कोठे भवन रु ६८ लाख ३२ हजार ९९१ मा राष्ट्रिय प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लमजुङले निर्माण गरेको हो । रासस


Author

थप समाचार
x