प्रदेश सरकारको उपस्थिति देखिने गरी काम गर्न निर्देशन
फाइल फोटो
गण्डकी - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको उपस्थिति देखिनेगरी काम गर्न प्रदेश प्रशिक्षण प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिएका छन् । प्रतिष्ठानले पेस गरेको वार्षिक प्रतिवेदन बुझ्दै उनले संघीयतालाई संस्थागत गर्न र प्रदेश सरकारको औचित्य साबित गर्ने सवालमा अझ चिन्तनशील भएर काम गर्न निर्देशन दिए ।
नागरिकले पाउने सेवा प्रवाहका क्षेत्रमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई आवश्यकतानुसारका तालिम प्रदान गर्न प्रतिष्ठानले थप मेहनत गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड थियो । उनले अन्य प्रदेश र गण्डकीमा स्थापित प्रतिष्ठान र तिनका कार्य सम्पादनबारे जिज्ञासा राखेका थिए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले मुख्यमन्त्री पोखरेल समक्ष प्रस्तुत गरेको प्रतिवेदनमा गत वर्षलाई रणनीतिक, आर्थिक, संस्थागत विकासको वर्षका रुपमा लिएर काम गरिएको उल्लेख छ । प्रदेश तथा स्थानीय तहका लागि तालिम आवश्यकताको पहिचान र सो का आधारमा वार्षिक कार्यक्रम र बजेट निर्माण गरिएको छ ।
निर्देशक पाण्डेले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि लामो र छोटो अवधिका एक सय ६३ वटा तालिमबाट ६ हजार आठ सय ८७ जनाको क्षमता विकास गरिएको जानकारी दिइयो । उनका अनुसार गण्डकी प्रदेश लोक सेवा आयोगद्वारा प्रदेशअन्तर्गतका कार्यालय र स्थानीय तहका लागि छनोट गरी सिफारिस भएका आठ सय २० जना प्राविधिक कर्मचारीलाई सेवा प्रवेशसम्बन्धी अभिमुखीकरण गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया