गण्डकी

लामाचौर कप : फाइनल स्थगित, उपाधि राशि बाँडियो

इकागज |
भदौ १६, २०७९ बिहीबार १८:५० बजे

पोखरा । लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत वर्षाका कारण पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । नेपाल पुलिस क्लब र गण्डकी प्रदेश टिमबीच बिहीबार बिहान हुने भनिएको फाइनल निरन्तर वर्षाका कारण स्थगित गर्ने निर्णय गरिएको आयोजक नवआदर्श सामुदायिक विकास समाजले जनाएको छ ।

समाजका अध्यक्ष बिहीबार विज्ञप्ति जारी गर्दै रेश्मा शेरचन अधिकारीले पोखराको मौसम अझै केही दिन प्रतिकुल नहुने भएको फाइनल र तेस्रो स्थानको खेल स्थगित गरिएको जनाकारी दिएकी हुन् । आयोजक नवआदर्श सामुदायिक विकास समाज, जुरी निर्णायक तथा सम्बन्धित टिमका टिम व्यवस्थापक, टिम कोच, क्याप्टेन सहितको बैठकले खेल स्थगित गरी पुरस्कार बाँडेर लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


जसअनुसार प्रथम र दोस्रो पुरस्कार वापतको रकम जोडेर हुने कुल २ लाख ५० हजार २ सय २२ रुपैयाँ आधा आधा बाँडेर लिने निर्णय भएको हो । जसअनुसार नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको टिमले रकम बाँडेर लिएको सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।

तेस्रो स्थानको लागि प्रतिस्पर्धाको तयारीमा रहेका त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एफिएफको टिमले तेस्रो स्थानवापत प्राप्त हुने ५० हजार १ सय ११ रुपैयाँ बाँडेर लिएका छन् । प्रथम र तेस्रो स्थानवापत प्राप्त हुने ट्रफी समेत थप गरी प्रदान गरिएको छ । बुधबार भएको महिलातर्फको भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ ।

न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको हो । नवआदर्श सामुदायिक विकास समाजले हरेक वर्ष तीजको अवसरमा तीज महोत्सवमा महिला राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै आएकोमा यसपालि पुरुषतर्फको विधा थप गरिएको थियो । प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका थिए ।


Author

थप समाचार
x