सार्वजनिक शौचालयमा पोखराको ध्यान
३२ स्थानबाट निःशुल्क शौचालय सञ्चालनमा
पोखरा- पोखरा महानगरपालिकाले निःशुल्क सार्वजनिक शौचालयकाे सुरुवात गरेको छ । महानगरपालिकाले निजी साझेदारीमा विभिन्न ३२ स्थानबाट निःशुल्क शौचालय सञ्चालनमा ल्याएको हाे ।
विभिन्न व्यवसायी संघ, संस्था र व्यक्तिको साझेदारीमा सुरुवात गरिएको सार्वजनिक शौचालयको पोखराका मेयर धनराज आचार्यले सुरुवात गरेका छन् । मेयर आचार्यले बिहीबार पोखरा–९ न्युरोडमा रहेको सिटी स्क्वायर रेष्टुरेन्टको दुई वटा शौचालयलाई सार्वजनिक शाैचालयको रूपमा प्रयोगमा ल्याई अभियानको सुरुवात गरेका हुन् । नि:शुल्क शौचालयका लागि बैंक, रेष्टुरेन्ट, निजि घर, पेट्रोलपम्प र व्यवसायीले आफ्नो निजी शौचालायलाई सार्वजनिक प्रयोगका लागि खुल्ला गर्न महानगरसँग सम्झौता गरेका छन् ।
महानगरले सर्वसाधरणका लागि शौचालय उपभोग गर्न दिन ईच्छुक व्यक्ति तथा संस्थालाई सम्पर्क गर्न असार ३१ गते सार्वजनिक सूचना मार्फत आह्वान गरेको थियो । सोही अनुसार विभिन्न व्यक्ति र संघसंस्थाले विभिन्न वडाका ३२ स्थानमा सर्वाजनिक शौचालयका रूपमा खुल्ला गरिएको महानगरले जनाएको छ । थोरै संख्याबाट सुरुवात गरिएपनि यसको संख्या १०० पुर्याइने उनले बताए ।
‘हामीले सर्वसाधारणका लागि शौचालय उपयोगका सन्दर्भमा विभिन्न बैक तथा वित्तीय संस्था र व्यक्तिहरूसँग पनि कुराकानी गरिरहेका छौँ । यसको संख्या १०० पुर्याइने छ,’ उनले भने ।
पोखरा महानगरको कार्यपालिकाको बैठकले सबै वडाहरू र मुख्य बजारमा सार्वजनिक शौचालय बनाउने निर्णय गरेको महानगर प्रमुख आचार्यले जानकारी दिए । यो वर्ष कम्तिमा पनि एक वडा एक शौचालय निर्माण हुने आचार्यको भनाइ थियो । एक वर्षभित्रमा कम्तिमा ३३ वटा सार्वजनिक शौचालन बनाउने मेयर आचार्यको दाबी छ ।
सार्वजनिक शौचालय रहेका स्थानको सूचना हुने गरी संकेतसहितकाे प्लेट टाँसिएको छ । सरसफाईमा प्रयोग हुने किटहरू आवश्यकताका आधारमा शौचालय संचालकहरूलाई महानगरले उपलब्ध गराउने छ ।
‘उहाँहरूसँग एक वर्षका लागि हाम्रो साझेदारी रहनेछ,’ उनले भने, ‘उहाँहरूलाई हामीले कसरी सहयोग गर्ने भन्ने कुरा उहाँहरूको आवश्यकताका आधारमा हामीले दिनसक्ने सहयोगमा हाम्रो समझदारी भएको छ ।’
सार्वजनिक शौचालय बनेका स्थानमा महानगरले सरसफाईको अनुगमन पनि गर्ने मेयर आचार्यले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया