रातो लालपुर्जा पाएका कास्कीका सुकुम्बासी भन्छन्
'हाम्रा लागि पनि सरकार रहेछ, म बसेको ठाउँको जग्गा मेरै भयो'
पोखरा- पोखरा १५ का शुकराम परियार आइतबार निकै खुसी थिए । एक हातमा रातो लालपुर्जा समाएर अर्को हातले पसिना पुछ्दै उनले भन्दै थिए, ‘हाम्रा लागि पनि सरकार रहेछ । म बसेको ठाउँको जग्गा मेरै भयो ।’
सेतीदोभान टोलमा बस्दै आएका उनी उमेरले ६० टेके । परियार भूमिहीन भएर बसेको आधा सतक हुन लाग्यो । विसं २०३२ सालदेखि सार्वजनिक जग्गामा बसेका उनले धेरै दु:ख पाए । आफ्नै जग्गा नहुँदा धेरै सुविधाबाट बञ्चित थिए । २०५२ सालमा सेतो पुर्जा पाए तर त्यो आफ्नै हो भन्ने उनलाई लागेन । नेताहरूले सधैँ भोट माग्ने बेलामा रातो पुर्जा दिने गफ दिएपनि अहिलेसम्म नदिँदा उनको मन मरिसकेको थियो । तर, केही दिनअघि रातो पुर्जा लिन बोलाउँदा उनी अचम्ममा परे । आइतबार हातैमा पुर्जा प्राप्त हुँदा झनै खुसी थिए, उनी । निकै कठिनता र संघर्षका बीच प्राप्त गरेको लालपुर्जासँग आफूसँगै आफ्ना सन्ततिहरूको भविष्य जोडिएको उनले बताए ।
शुकराम मात्र होइनन्, आइतबार कास्कीका ३९ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूको हृदय खुसीले गदगद भएको थियो । राष्ट्रिय भूमि आयोग कास्कीले नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा लालपुर्जा वितरण गरेको हो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले आफ्नै हातले कास्कीका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्न पाउँदा खुसी व्यक्त गरिन् । सुकुम्बासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने काम कास्कीमा पनि प्रारम्भ भएको उनको भनाइ थियो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले प्राप्त गरेको जग्गा अब कसैले पनि खोस्न नसक्ने उनले विश्वास दिलाइन् । चुनावी नारामा मात्र सीमित नगरी अब साच्चै सरकारले हेर्छ भन्ने अनुभूति दिलाउन पनि आगामी कार्यक्रम चुस्तदुरूस्त बनाउनुपर्नेमा उनको जोड थियो ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले कास्कीमा आयोगका प्रतिनिधिहरूले राम्रो काम गरिरहेकाले लालपुर्जा वितरणको कामले पूर्णता पाउने विश्वास व्यक्त गरे । अन्य भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि पनि छिट्टै वितरण गरिने उनको भनाइ थियो ।
कास्कीमा करिब २६ हजार हाराहारीमा सुकुम्बासी रहेको पाइएको छ । राष्ट्रिय भूमि आयोग कास्कीले जिल्लाका ५ पालिकामध्ये माछापुच्छ्रेबाहेक १९ हजार ६ सय ३४ जना घरपरिवार भूमिहीन रहेको जनाएको छ ।
आयोगका कास्की अध्यक्ष गंगाप्रसाद पोखरेलले ४ स्थानीय तहमा ३ हजार ६ सय ८९ जना भूमिहीन दलित, ४ हजार ३ सय ३४ जना भूमिहीन सुकुम्बासी रहेको जनाए । साथै, १४ हजार ३ सय ५३ जना अव्यवस्थित बसोबासीले जग्गा प्रमाणपत्रका लागि निवेदन दिएको उनको भनाइ छ । अध्यक्ष पोखरेलले अन्य भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले छिट्टै नै जग्गाधनी प्रमाणपत्र लालपुर्जा प्राप्त गर्ने र त्यसअनुसार काम भइरहेको बताए ।
पोखरामा झण्डै २० हजार र अन्य ४ गाउँपालिका अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रुपामा ६ हजार गरी करिब २६ हजार भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवार रहेको तथ्यांक छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया