पोखराकाे आर्ट ग्यालरी र पुस्तकालयमा चलाईयो डोजर
पोखरा । पोखरा महानगरपालिकाले सार्वजनिक जमिनमा बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ ।
बिहीबार आफ्नै स्वामित्वको जमिनमा बनेका महेन्द्रपुलका सटर तथा घरमा पोखरा महानगरपालिकाले डोजर लगाएको हो । पोखराका मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीसहितको टोली नगर प्रहरीसहित घर तथा सटर भत्काउन पुगेको थियो ।
जहाँ पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय सञ्चालनमा थियो । बाटोका वारी पारी रहेका २ तले भवनमा एउटामा ग्यालरी र अर्कोमा पुस्तकालय छ । भने, भुइँतलामा सटर राखेर व्यापार व्यवसाय सञ्चालनमा थियो । त्यहाँ बसेका पसलहरुलाई हट्न यसअघि नै महानगरपालिकाले ३५ दिने सूचना दिएको थियो । त्यो म्याद २२ भदौमा सकिएको हो ।
आफूहरुले दिएको सूचनाको म्याद सकिएको भोलिपल्टै महानगर र वडाले संरचना भत्काउने कदम चालेको हो । म्याद नसकिंदै वडाध्यक्ष दिपेन्द्र मर्सानीले फुलको गुच्छा दिंदै सटर खाली गर्न आग्रह गरेका थिए । सोही कारण पनि बिहीबार डोजर लिएर पुगेको टोलीलाई स्थानीय तथा व्यासायीहरुले विरोध गरेनन् । तर, आर्ट ग्यालरीसँग सम्बन्धित कलाकारहरुले विकल्प नदिई डोजर चलाएकोमा विमति राखेका थिए ।
महानगर हुन आवश्यक पर्ने आर्ट ग्यालरी र पुस्तकालय विकल्प खोजिनुपर्ने सिर्जनशील कलाकार समूहकी अध्यक्ष शेरचनले बताईन् । पोखरा आर्ट ग्यालरीमा भदौ १० देखि ‘अनन्त रेखाहरू’ नामक सुरु सामूहिक कला प्रदर्शनी सुरु भएको थियो । १५ दिने प्रदर्शनी भदौ २५ सम्म चल्नुपर्ने हो । तर पोखरा महानगरपालिकाले महेन्द्रपुलमा रहेको ग्यालरीसहितको भवन खाली गर्न दिएको ३५ दिने म्याद बुधबार सकियो ।
प्रदर्शनी सकिने दिन भदौ २५ सम्म ग्यालरी नभत्काइदिन सिर्जनशील कलाकार समूहले आग्रह पनि गरेको थियो । तर २ दिनपनि कुर्न नकुरी डोजर लगाइएपछि कलाकारहरु खुसी छैनन् । अर्को विकल्प नदिई ग्यालरी भत्काउने सूचनाले कलाकारको चैन उडेको छ । सो प्रदर्शनीको उद्घाटन उनै मेयर धनराज आचार्यले गरेका हुन् । सोही समयमा मेयर आचार्यले नयाँ विकल्प नभेटिँदासम्म ग्यालरी नहटाउने आश्वासन दिएका थिए । तर, आफैले उद्घाटन गरेको कला प्रदर्शनी नसकिदैं भत्काएकोमा उनीहरुले आक्रोश व्यक्त गरेका थिए । सिर्जनशील कलाकार समूहकी अध्यक्ष शेरचनले ग्यालरीमाथि डोजर चल्दा आफ्नो मुटुमा चोट पुगेको बताइन् ।
अधिकांश व्यवसायीहरूले सटर छोडिसकेका थिए भने आर्ट ग्यालरी र पुस्तकालयको व्यवस्थापन महानगरपालिका आफैले गर्ने प्रमुख धनराज आचार्यले बताए । ‘पोखरा आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वी चोकमा बन्ने पोखरा भवनमा व्यवस्थापन गरिनेछ, मेयर आचार्यले भने, ‘त्यसको भुई तलामा सुचना केन्द्र हुन्छ, बिचको तलामा पुस्तकालय हुन्छ, त्यो भन्दा माथि आर्ट ग्यालरी हुन्छ र त्यो भन्दा माथि घण्टाघर हुन्छ । यस हिसाबले त्यो भवन नबन्दासम्म पुस्तकालय र आर्ट ग्यालरीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।’ अरू सबै संरचनाहरू त्यहाँबाट हट्ने प्रमुख आचार्यले जानकारी दिए ।
उक्त स्थानमा पार्किङ र सुन्दर बगैँचा सहितको खुला स्थान निमार्ण गरिने उनले बताए । ‘हरेक वडामा एउटा एउटा खुला ठाउँ निर्माण गर्नुपर्छ भनेर हामीले अभियान सुरु गरेका छौँ, त्यही अनुसार नै आफ्नै स्वामित्वमा रहेको भवनबाट सुरु गरिएको छ, मेयर आचार्यले भने, ‘हामीले नदीको किनारमा संरचना बनाउन नदिने भनेर भनिरहेका छौँ, तर हामी आफैले बनाएका संरचनाहरू एकदमै खतरामा छ, यो जीर्ण पनि छ, सानो भूकम्प आउने बित्तिकै पनि ठूलो दुर्घटना हुनेवाला छ, त्यस कारण दुर्घटना पनि नहोस् र खुला ठाँउ पनि होस् भनेर अहिले हामीले काम सुरु गरेका हौँ ।’ वर्षौँदेखि महानगरपालिकाको सटर मा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई १ वर्षको भाडा समेत छुट दिएर बाँकी बुझाउन पटक पटक ताकेता गरे पनि अटेर गरिएको उनले बताए । सटर हटाए पनि उठ्न बाँकी रकम नियमानुसार असुल उपर गरिने प्रमुख आचार्यको भनाई थियो ।
ती सटरहरुबाट १ करोड ८७ लाख रुपैयाँभन्दा बढी भाडा असुल उपर गर्न बाँकी छ । महानगरपालिकाले ताकेता गरेपछि केही व्यवसायीहरुले ९ लाख ९२ हजार रुपैयाँ मात्र राजश्व बुझाएका छन् ।
पोखरा महानगरपालिका भित्र गैर कानुनी रूपमा बनेका सबै संरचनाहरू हटाउने अभियानको सुरुवात पोखरा ९ बाट गरिएको वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । ‘गैर कानुनी रूपमा बनेका संरचनाहरू हटाउन महानगर आफैले आफ्नो स्वामित्वमा रहेको भवनबाट सुरु गरेको छ, अव यो अभियान पोखरा भरि लागू हुन्छ र हटाइन्छ,’ वडाध्यक्ष मर्सानीले भने, ‘जो अवैध रूपमा निर्माण गरिएको छ, त्यो रहन्न, भत्कन्छ ।’ महेन्द्रपुल चोकमा रहेको क्षेत्रीय हुलाकको कम्पाउन्ड समेत भत्काइने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया