Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

गण्डकी

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन: प्रजापति कि पोखरेल ?

धनबहादुर गुरुङ |
भदौ २५, २०७९ शनिबार १४:४० बजे

पोखरा- पोखराको पुरानो संस्था मध्येको एक पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशन चलिरहेको छ । नयाँ नेतृत्व चयन गर्नका लागि शुक्रबार र शनिबार अधिवेशनको मिति तोकिएको थियो । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेपछि सुरू भएको अधिवेशनमा शनिबार चुनावी प्रक्रिया सुरू भएको छ ।

शुक्रबार संघको ६८ औं साधारणसभा अधिवेशनको उद्घाटनसँगै बन्द सत्र सकाएर शनिबार निर्वाचन प्रक्रियामा होमिएको संघले निर्वाचन समितिको संयोजकमा पूर्व अध्यक्ष दिपक श्रेष्ठलाई जिम्मा दिएको छ । निर्वाचन समितिको तालिकाअनुसार बिहान ८ बजेदेखि सुरू भएको मतदानको समय बेलुकी ५ बजेसम्म चल्नेछ । संघको परिसर गैह्रापाटनमा मतदाता र उम्मेदवारहरूको भीड लागेको छ ।


संघको नेतृत्व लिन पवन प्रजापति र अर्जुन पोखरेलले प्यानलसहित चुनावी प्रतिष्पर्धा गरेका छन् । प्रजापति हालका वरिष्ठ उपाध्यक्ष हुन् भने पोखरेल अहिलेका उपाध्यक्ष हुन् । अघिल्लो अधिवेशनमा एउटै प्यानलबाट चुनावी मैदानमा होमिएका उनीहरू छुट्टाछट्टै प्यानल बनाएर अघि बढेका हुन् । ३३ औं अधिवेशनमा प्रजापति निर्विरोध वरिष्ठ उपाध्यक्ष भएका थिए भने पोखरेलले सोभित पौडेललाई १ सय ४८ मतान्तरले पराजित गरेका थिए ।

तर, ३४ औं अधिवेशनमा आइपुग्दा एउटै प्यानल दुई टुक्रा भएको हो । पोखरेलले २२ साउनमा पत्रकार सम्मेलन गर्दै आसन्न निर्वाचनमा विना प्यानल नै अध्यक्ष उठ्ने घोषणा गरेका थिए । तर, ९ भदौमा पोखरेलले प्यानलसहित अध्यक्ष घोषणा गरेका थिए । त्यसअघि प्रजापतिले ६ भदौमा प्यानल घोषणा गरेका थिए । अध्यक्षमा प्यानलसहित भिड्न लागेका दुवै जना नेपाली कांग्रेस निकटमात्रै मानिँदैनन्, लामो समय एकै समूहमा रहेर संघको कार्यसमितिको अनुभव लिइसकेका छन् । उनीहरू यसअघिका ४ वटा उद्योग वाणिज्य संघका चुनावमा एउटै प्यानलमा थिए ।

पत्रकार सम्मेलनमा यसपटक पनि अर्जुनलाई आफ्नै प्यानलमा समेटेर आफूले नेतृत्व लिने योजना बनाए पनि त्यसमा सहमति जुट्न नसकेको प्रजापतिले बताएका थिए । ‘अध्यक्षलगायत सबै पदमा सर्वसम्मति गर्ने भन्ने थियो । त्यसका लागि पूर्वअध्यक्षसहित वार्ता पनि बसियो,’ उनले भनेका थिए, ‘तर, वार्तामा बस्दा सहमति जुट्न सकेन । त्यही भएर छुट्टै प्यानल घोषणा गर्नुपर्‍यो ।’

यता, पोखरेलले अर्को समूहले टिम बनाउँदा संघको नेतृत्व लिन सक्ने पहिलासँगै काम गरेका सक्षम व्यवसायीलाई छुटाइएकाले प्यानल नै बनाएर चुनावमा होमिएको पत्रकार सम्मेलनमा बताएका थिए । यसरी दुवै जनाले प्यानल बनाएर चुनावको तयारीमा लागेका हुन् ।

घरदैलो कार्यक्रमपश्चात् दुवै उम्मेदवार र उनीहरूको प्यानलले चुनाव जित्ने दाबी गरेपनि कसको पक्षमा नेतृत्व जान्छ भनेर भन्न सकिने अवस्था छैन । ‘यसपटकको निर्वाचनको नतिजा अहिले नै आंकलन गर्न गाह्रो छ,’ पोखरेल समर्थक मतदाताले भने, ‘प्रतिष्पर्धा कडा छ तर जो नेतृत्वमा आएपनि संघको हितमा काम हुने व्यवसायीको विश्वास छ ।’

प्रजापतिको प्यानलको वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोइराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानाङ्ग प्रत्यासी छन् ।

अर्जुन प्यानलको वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेदवार छन् । यस्तै, सदस्यहरूमा भरत केसी, कृष्णप्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेदवारी दिएका छन् ।

संघको पदाधिकारीमा बसेर काम गर्नका लागि दुई प्यानलबाहेक पनि स्वतन्त्र रूपमा उम्मेदवारहरू रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा वाणिज्य उपाध्यक्षमा सोभित पौडेल, महासचिवमा तारानाथ ढुंगाना पनि चुनावी मैदानमा छन् ।

२०११ सालमा स्थापना भएको संघमा हाल ३ हजार १ सय सदस्य छन् । संघमा २९ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ जना पदाधिकारी, सदस्य (खुला) १०, वस्तुगतमा ४, कर्पोरेटमा २ र उद्योग १ गरी २५ सदस्य निर्वाचित हुनेछ । अध्यक्षले ४ जना सदस्य मनोनयन गर्ने अधिकार छ ।


Author

थप समाचार
x