गण्डकी

मुख्यमन्त्री गुरुङ भोलि काठमाडौं जाँदै, छलफल गर्न संसद् अधिवेशन अन्त्य गरेको टिप्पणी

इकागज |
बैशाख २, २०७८ बिहिवार १७:५७ बजे

फाइल तस्‍वीर

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भोलि काठमाडौं जाने भएका छन् । बिहीबार अविश्वासको प्रस्ताव गण्डकी प्रदेश सभा सचिवालयमा दर्ता भएपछि उनी केन्द्रीय नेताहरूसँग छलफल गर्न काठमाडौं जान लागेका हुन् । उनले छलफलकै लागि समय निकाल्न संसद अधिवेशन अन्त्य गरेको पनि बताएका छन् । पोखरामा बिहीबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

प्रस्तुत छ मुख्यमन्त्री गुरुङले पत्रकारसँगको कुराकानीमा भनेको भनाइको सम्पादित अंशः


विपक्षी त वेटिङ प्रधानमन्त्री/मुख्‍यमन्‍त्री हो । उनीहरूको त धर्मै हो, सरकारको विरोध गर्ने । तर सरकारमै रहेको पार्टीले काम गरिरहेको सरकारको विकल्प किन खोज्नुपर्यो ? वामपन्थीहरूको सरकार थियो त । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबदादुर केसीले वामपन्थीकै सरकार चाहेको बताउनुहुन्छ । ओलीले अस्थिरता ल्याए भन्ने । अनि स्थिरता चाहँदा पनि प्रदेशमा भइरहेको सरकारलाई हटाउने खोज्ने । केन्द्रमा स्थिरता चाहिने प्रदेशमा नचाहिने भन्ने हुँदैन । 

संघीय शासन प्रणालीमा सिधै केन्द्रबाट निर्णय गरेर प्रदेशमा पठाउनाले संघीयता सफल हुँदैन, स्थिरता हुँदैन । चित्रबहादुर केसीकै शब्द सापटी लिएर भन्ने हो भने यो प्रतिगामी कदम हो नि । वामपन्थीको भाषामा, वामपन्थीको सरकार ढालेर गैरवामपन्थीको सरकार बनाउनु प्रतिगामी कदम हो । 

माओवादीलाई पनि मैले भनेको थिएँ । तपाईंहरू मुख्यमन्त्री हुने होइन, मन्त्री त मैले नै दिइराखेको थिएँ । सरकारबाट राजीनामा दिएर केही बिग्रिएको छैन, फेरि जोइन हुन सकिन्छ । त्यो ढोका त खुल्लै राखेको छु । यो सब छलफलको लागि मैले केही समय लिनलाई संसद अधिवेशन अन्त्य गरेको हुँ । १/२ हप्ताको टाइम त मिल्छ नि । म भागेर कहाँ जान्छु र ? म जस्तो मान्छे भागेर कहीँ जान्छ ? 

उहाँहरूले संसद बैठक आह्वान गर्न भन्नुहुन्छ अनि म अविश्वास प्रस्ताव थापिन पर्छ भन्ने मलाई थाहा छैन र ? छलफल गर्ने केही टाइम होस् न त भनेर नै संसद अधिवेशन अन्त्य गरेको हुँ । अविश्वासको प्रस्ताव फिर्ता हुन पनि सक्छ । नहुन पनि सक्छ । राजनीतिमा केही असम्भव भन्ने हुँदैन । 

माथि पनि छलफल चलाउँ न भनेर हो । मैले हाम्रा अध्यक्षलाई पनि भनेको छु, प्रचण्ड, बाबुरामहरूसँग छलफल गर्न भनेर । चित्रबहादुर केसीसँग पनि छलफल गरौँ न । उहाँहरू त सरकारमै जान्नँ भन्नुभएको छ । त्यस्तो बेलामा भइरहेको सरकार ढालेर अर्को बनाउने नोबत किन आयो भनेर छलफल गरौं न । 

यो सबै चिजको सहमतिमा पुग्ने सम्भावना पनि देख्छु । सहमतिका सम्भावनाहरू जिउँदै राखौं न । माओवादी, जनमोर्चा सबैसँग मेरो यहाँ छलफल भइरहेको छ । मैले बाबुरामसँग पनि फोनमा कुरा गरें । जसपाका अन्य नेता, यहाँका इन्चार्जसँग पनि छलफल गरें । उहाँहरुको केन्द्रीय कमिटीले गण्डकीको सरकार हटाउने कुनै निर्णय नै गरेको छैन । भोलि काठमाडौं जाँदैछु, छलफलका लागि । जनमोर्चाले केन्द्रकै निर्णय मानेपछि केन्द्रमै छलफल गर्नुपर्‍यो । 

जनताले थाहा पाउनुपर्‍यो नि, पृथ्वीसुब्बालाई किन हटाएको भनेर । ठूलै भ्रष्टाचार गरेर हटाएको हो कि ? संघीयता विराधी काम गरेर हटाएको हो कि ? यस्तो त मैले केही गरेको छैन नि । ७ प्रदेशमध्ये सबैभन्दा बढी फरवार्ड भएर काम गरेको, सबैको चित्त बुझाएको मेरो दाबी छ । काठमाडौंमा रिस उठेको बिरालुले पोखरामा आएर खाँबो चिथोर्छ भन्छ नि । 

केपीको रिस ममाथि पोखेर स्थिरता, संघीयतालाई सहयोग पुग्छ ? संघकै सरकारलाई हटाउन बल गर्नुनि, पृथ्वीसुब्बालाई किन हटाउनु पर्‍यो ? म प्रदेश प्रमुख हटाउँदिनँ । उहाँ उदार हुनुहुन्छ, उहाँलाई हटाएर लोकतन्त्र बलियो हुन्छ भने हटाऔं । संघीयत बलियो हुन्छ भने हटाऔँ । कम्युनिस्ट आन्दोलनलाई सहयोग गरेको, देशभक्त व्यक्तिलाई मैले किन हटाउने ?


Author

थप समाचार
x