अथक प्रयास गर्दा पनि ठेकेदारले धोका दिँदा मध्यपहाडी लोकमार्ग बनेन : डा. पाठक
बलेवा- नेकपा एमालेका नेता तथा बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार डा सूर्य पाठकले युवा नेतृत्व चाहिन्छ भन्नेहरूले नै ८० वर्ष उमेर कटेकालाई पनि भोट माग्ने गरेको भन्दै कटाक्ष गरेका छन् । बेलायतमा ४२ वर्षीय युवा प्रधानमन्त्री भएकामा खुसियाली बनाउँदै सामाजिक सञ्जालमा लेख्नेहरूले नै फेरि नेपालको हकमा भने ८० वर्षको उमेरका व्यक्तिलाई भोट माग्ने गरेको उनको भनाइ छ ।
राजनीतिमा युवा सहभागिता चाहने हो भने व्यवहारमा पनि सोही अनुसार हुनुपर्ने उनले जिकिर गरे ।
आइतबार बागलुङको तम्रागमा आयोजित चुनावी सभामा बोल्दै उनले देश बदल्ने हो भने युवाले हस्तक्षेपकारी भूमिका बढाउनुपर्ने र अलिकति गतिशील तथा दृष्टिकोण राख्नसक्ने खालका व्यक्तिहरू चाहिनेमा जोड दिए । ‘अवस्था बदल्ने कुरामा युवा नेताहरू जो गतिशील छन्, जो अलिकति पढेलेखका छन्, जसले कुराहरू बुझ्छन् र विषयवस्तुलाई, तर्क, तथ्यांक तथा तथ्यसहित राख्नसक्छ त्यस्ता मान्छेहरूले यो देशको नेतृत्व गर्नुपर्छ भन्ने समाजको माग छ,' पाठकले भने, ‘बेलायततिर ४२ वर्षको मान्छे प्रधानमन्त्री भएको कुराले सामाजिक सञ्जाल रंगिन्छ । एकातर्फ ४२ वर्षको मान्छे प्रधानमन्त्री भएर भनेर सामाजिक सञ्जालमा भन्छ, अर्कोतिर त्यही मान्छेले ८० वर्षको मान्छेलाई भोट दिनुस् भनेर भन्छ । तर, कुरा के हो भने हामीले नेपाल बदल्ने हो भने अलिकति हस्तक्षेपकारी भूमिका बढाउनै पर्छ । अब अलिकति गतिशील, अलिकति दृष्टिकोण राख्नसक्ने खालका व्यक्तिहरूको आवश्यकता छ ।’
उनले राजनीतिमा पुस्तान्तरण जरुरी रहेकोमा पनि जोड दिए । उनले मध्यपहाडी लोकमार्ग समयमा नबन्दा तम्राग क्षेत्रका जनताले निकै सास्ती भोग्नु परेकोप्रति आफू जानकार रहेको बताए । आफू सांसद हुँदादेखि नै मध्यपहाडी लोकमार्ग निर्माणका लागि पहल गरेको तर ठेकेदारको लापरबाहीले काम हुन नसकेको बताए ।
यो समस्या समाधानका लागि कडा कानुन ल्याउन आफूले पहल गर्ने उनको भनाइ छ । मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि तम्रागको एक खण्डको ठेक्का सिद्धि साइबाबाले लिएको छ भने अर्को १३ किलोमिटर खण्ड सूर्य कन्स्ट्रक्सनले लिएको छ ।
२०७५ मा सम्पन्न हुनुपर्ने काम ठेकेदारको ढिलासुस्ती म्याद थपेर २०८० असार मसान्तसम्म लम्ब्याइएको छ ।
‘०७६ सम्म काम अघि नबढेपछि मैले पश्चिमका मान्छेहरू सहज ढंगले आवतजावतको वातावरण बनेन भनेर प्राेजेक्ट मेनेजरलाई भनेको थिएँ । यसलाई रद्द गरौँ भनेर आग्रह गरेँ । कुनै पनि ठेक्का रद्द गर्नका लागि सम्बन्धित प्रोजेक्ट मेनेजरको सिफारिस अनिवार्य हुने रहेछ,' पाठकको भनाइ छ, ‘तर, त्यसलाई स्वीकृत गर्ने काम भएन । तपाईँको विश्वास भयो भने सार्वजनिक खरिद नियमावलीको फाइदा उठाएर काम गर्नेको ठेगान बनाउन काम गछौँ । त्यसको प्रभावकारी कार्यान्वयन गर्नका लागि हामी लाग्छौँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया