गण्डकी

...अनि बुढो चितुवाले भेट्याे गाउँलेकाे 'चुटाइ' (तस्बिर)

इकागज |
बैशाख ९, २०७८ बिहीबार १३:१ बजे

तनहुँको व्यास नगरपालिका–६ सिसाघाटमा बुधबार स्थानीयवासीले नियन्त्रणमा लिएको चितुवा । उक्त चितुवालाई डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको छ । तस्वीर  कृष्ण न्यौपाने

तनहुँ : व्यास नगरपालिका–६ सिसाघाटका मदन कुमाल बुधबार बिहान गोठालो जाँदै थिए । घरबाट भैँसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो— 'दाई मलाई बचाउनु, चितुवाले समात्यो' ।

मदन कुमाल दौडिँदै गएर हेर्दा ती महिलाको गोठमा चितुवा आएको रहेछ । भैँसीलाई आक्रमण गर्न नसकेपछि चितुवाले महिलामाथि आक्रमण गर्न खोज्दै थियो । कुमाल त्यहाँ पुग्ने बित्तिकै चितुवा कुमालमाथि नै जाइलाग्यो । चितुवामाथि एक्लै भिडेका कुमालले सुरुमा चितुवाको खुट्टा समाते, अनि लगत्तै टाउको पनि ।


दुई मिनेट जति चितुवासँग भिड्दै गर्दा हल्लाखल्ला भएपछि उनका भाइ भेषबहादुर पनि घटनास्थल आइपुगे । कुमालले भाइसँग मिलेर चितुवालाई नियन्त्रणमा लिए । हल्लाखल्ला भएपछि गाउँले जम्मा हुन थाले । अन्य केही व्यक्तिको सहयोगमा उनीहरू चितुवालाई बाध्‍न सफल भए । उक्त चितुवा बुढो भएका कारण नियन्त्रणमा लिन सहज भएको गाउँलेहरूले बताएका छन् । 


Author

थप समाचार
x