गण्डकी

सेतीमादी पुल निर्माणकाे प्रगति दुई वर्षमा छ प्रतिशत मात्र

इकागज |
पुस १४, २०७९ बिहीबार २०:१६ बजे

फाइल तस्बिर

तनहुँ- जिल्लाको दुई पालिका जोड्ने मोटरेवल पुल दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगति छ प्रतिशत मात्रै भएको छ । 

व्यास नगरपालिका–३ को देउरालीनगर र ऋषिङ् गाउँपालिका–१ को झापुटार जोड्ने सेतीमादी पुल सम्झौता अवधि छ महिना बाँकी हुँदा निर्माण कार्यले गति लिन नसकेको हो । 


विसं २०७७ मङ्सिर १९ गते ३० महिनामा सम्पन्न गर्ने गरी रसुवा इलाइट जेभी काठमाडौँले सम्झौता गरेको थियो । निर्माण कार्यले सन्तोषजनक गति नलिएपछि पटकपटक परिपत्र गरेको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले जानकारी दिइन् । 

उक्त पुलको कूल लागत रु ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ छ । उक्त पुलको लम्बाइ १५४ र चौडाइ ९.५० मिटर छ । हिउँदमा कामले गति लिने समय भएकाले निर्माण कार्य अघि बढाउन ताकेता गर्दै आएका छौँ । उनले भनिन्, 'वर्षायाम सुरु भएपछि पुलको निर्माण कार्य रोकिने हुँदा कडाइ गरिएको छ ।'

पुल निर्माण स्थलसम्म हेभी इक्युपमेन्ट लैजान सडक साँघुरो भएका कारण समस्या भएको छ । दुवै पालिकाका अध्यक्षसँग समन्वय गरी सडक मार्गको ट्र्याक खुलेपछि निर्माण कार्य सहज भएकाले अब कामले गति लिने विश्वास रहेको उनले बताइन् ।

पुल बनेपछि दुई पालिका जोड्ने देखिए पनि छिमेकी जिल्ला नवलपुर र पाल्पासमेत जोडिने हुँदा सो क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् । 


Author

थप समाचार
x