गण्डकी

माओवादी गण्डकी प्रदेश दलको नेतामा चुमान सर्वसम्मत, मुख्यमन्त्रीमा दाबी

इकागज |
पुस १७, २०७९ आइतबार १०:५८ बजे

पोखरा । गण्डकी प्रदेशसभामा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत भएका छन । पार्टीले उनलाई सर्वसम्मत रुपमा दलको नेता बनाउने निर्णय गरेको पार्टीका पोलिटब्युरो सदस्य राजकाजी गुरुङ ‘करण’ले जानकारी दिए ।

पार्टीले सर्वसम्मत रुपमा चुमानलाई संसदीय दलको नेता चुनेसँगै गण्डकी प्रदेशको मुख्यमन्त्री पनि दाबी गरेको गुरुङले बताए । ‘पार्टीले सर्वसम्मत रुपमा उहाँ दलको नेता बनाउने निर्णय गरेको छ, ’ उनले भने, ‘गण्डकी प्रदेशको पदाधिकारी र केन्द्रीय सदस्यको बैठक थियो, मुख्यमन्त्री माग्ने कुरा भएको छ । ’


चुमान तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन अवस्थामा पनि उनी संसदीय दलको नेता चुनिएर एमालेसँगको गठबन्धनमा प्रदेशको कानुनमन्त्री बनेका थिए । पछि कांग्रेससँगको गठबन्धनमा भने उनी मन्त्रीमण्डलमा सहभागी भएनन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादी ८ सदस्यसहित तेस्रो स्थानमा रहेको छ ।


Author

थप समाचार
x