विपन्नको घरमा जस्तापाताको छानो
ढोरपाटन- खरको छानो हिउँदमा न्यानो र गर्मीमा शीतल हुने हुँदा ग्रामीण क्षेत्रमा एक दशक अगाडिसम्म बाक्लै खरका घर भेटिन्थे । ढुङ्गा खानीभन्दा टाढाको गाउँमा त झन् खरैखरका घर हुन्थे ।
परम्परागत खरका घर देख्दा निकै रमणीय लाग्थ्यो । तर अहिले ती घरले रुपरङ बदलेका छन् । बागलुङको निसीखोला गाउँपालिकाका घर रङ्गीचङ्गी जस्तापाताले छाइएका छन् ।
गाउँपालिकाको खरका छानो हटाउने नीतिअनुसार गाउँमा जस्तापाता र ढुङ्गे घर बनिरहेका छन् । युवाशक्ति पलायन हुने, गाउँमा बालबालिका र बूढापाकामात्रै हुँदा बर्सेनि खरको घर छाउन समस्या हुन थालेपछि पालिकाले खरको छानो विस्थापित गरेर जस्तापाताले छाइदिएको छ ।
निसीखोला–३ की तुलसी विकले हरेक दुई–दुई वर्षमा घरको छानो फेर्दै आएका थिए । आर्थिक अभावमा गुज्रिँदै आएकी विकलाई प्रत्येक दुई वर्षमा घरको छानोमा नयाँ खर फेर्न सकस हुन्थ्यो ।
वर्षौँदेखि चुहिने र पुरानो खरको छानोमा बस्दै आएकी विकको घरमा गाउँपालिकाले जस्तापाताको छानो हालीदिएपछि उनलाई राहत मिलेको छ । वनबाट खर काटेर ल्याउने कोही नहुँदा आफू चुहिने घरमा चार वर्ष बसेको सुनाउँदै गाउँपालिकाले पुरानो खरको छानो हटाएर जस्तापाता हाल्दिएपछि सहज भएको उनी बताउँछिन् ।
“एकै वर्षमा खर कुहिन्छ”, उनले भनिन्, “अब त छानो फेर्न नपर्ला कि ?”
विगतमा खरको समस्याले पानी चुहिने अवस्थामा पनि छानो फेर्न नसकेको वडा नं ५ का तिलकुमार विक बताउँछन् । गाउँपालिकाले घरको छानो जस्तापाताले छाइदिएपछि उनी हर्षित छन् । “अब ढुक्क भइयो, आगलागी हुने डर पनि कम भयो”, विकले भने ।
निसीखोलाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरमा जस्तापाताको छानो हाल्न रु ३० लाख विनियोजन गरेको सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । गाउँपालिकाले अघिल्ला वर्षमा एक सय तीन घरमा जस्तापाताको छानो हालेको थियो ।
“यस वर्ष बाँकी रहेका घरमा जस्तापाता हाल्ने क्रम जारी छ”, उनले भने । गाउँपालिकाले सात वडामा ७३ जनाको र प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गतका ३० जनाको घरमा अघिल्लोपटक जस्तापाताको छानो हालिएको थियो ।
“हाम्रो पालिकामा धेरै गरिब तथा विपन्न परिवार छन्, उनीहरूको जस्तापाता तथा ढुङ्गाको छानो हाल्ने अवस्था छैन, त्यसैले गाउँपालिकाले नै जस्तापाताको छानो हाल्न थालेको हो”, गौतमले भने । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया