गण्डकी

कोभिडले छेकेको तिहार

अनिष भट्टराई |
मंसिर १, २०७७ सोमबार ७:४७ बजे

पोखरा : ‘निधारमा लर्काएर सप्तरंगी टिका, हिँडिरहु सधैं तिमी शिखरको बाटो........’ पृष्ठभूमिमा बजिरहेको छ, दिनेश अधिकारीको गीत । पोखरा महानगरको कृषि तालिम केन्द्रको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरू तिहारको यो मधुर गित सुन्दै बिहानीको पारिलो घाम तापिरहेका छन् । संक्रमण हुँदैनथ्यो भने उनीहरू आफ्ना दिदी बहिनीको हातबाट टिका थाप्न गाउँघर गएका हुन्थे ।

दिदीबहिनीसँग खुसी साटिरहेका हुन्थे । तर समय वैरी बनिदिँदा उनीहरु आफ्ना इच्छालाई कुण्ठित पार्न बाध्य छन् । दिदीबहिनीको हातबाट टिका लगाउने दिन नजिकिँदा पनि उनीहरु बन्द घरमा बन्द भएर बस्न बाध्य छन् । गितका शब्दले उनीहरु सबैलाई स्मृतिमा पुर्‍याइदिएका छन् । उनीहरु केबल पहिलेका सम्झनालाई आँखा अगाडि ल्याउन बाहेक अरु केही गर्न सक्दैनन् ।


आइसोलेसनको ढलानमा घाम ताप्दै गित सुन्नेहरुको हुलमा गोरखा बारपाक ३ का १९ वर्षीय पुरुष संक्रमित पनि छन् । उनको घरमा २ बहिनीहरु छन् । १७ कात्तिकमा संक्रमण पुष्टि भएका उनले घरमा खबर घरमा सुनाएका छैनन् । घरको आर्थिक अवस्था ठिक नहुँदा उनले ९ कक्षा पढ्दा पढ्दै १७ वर्षकै उमेरमा भारतको बोरा उद्योगमा काम गर्न गएका थिए । भारतमा हुँदा पनि उनले गत तिहारमा बहिनीको हातको टिका लगाउन गोरखा आएका थिए । 

अहिले उनको कार्यक्षेत्र पोखरा हो । गत तिहारमा भारतबाट फर्किएका उनी गोरखा नजिकै पोखरामा हुँदा भने जान सक्दैनन् । उनी फेसबुकका पोष्ट हेर्छन् । तिहारसम्बन्धी गरिएका पोष्टले उनलाई झनै घरको याद दिलाउँछन् ।‘काम गर्ने ठाउँको दाइलाई कोरोना लागेको छ, अहिले आउन पाइनँ भनिदिएको छु,’ शिर निहुराउँदै उनी भन्छन्, ‘पहिलेको वर्ष भारतबाट आएको थिएँ, अहिले नजिकै हुँदा पनि जान सकिनँ, बहिनीले मन दुखाइ होली ।’

उनले २७ कात्तिकमा दोस्रो पटक स्वाब दिएका थिए । ३ दिनमा रिपोर्ट आएपनि घर जान पाउने आशा उनमा थियो । उनलाई लक्षण थिएन । कोरोना निको भएको विश्वास उनमा थियो । तर रिपोर्ट उनले सोचे जस्तो आएन । ‘नेगेटिभ रिजल्टको पेपर सहित जान सक्छु कि भन्ने आशा थियो,’ उनले थपे, ‘म अनलक्कि बनें, सोजे जस्तो कोरोना रहेनछ ।’

काम गर्ने ठाउँको दाइलाई कोरोना लागेको छ, अहिले आउन पाइनँ भनिदिएको छु । 

महोत्तरी बलवा नगरपालिका १० का ४२ वर्षीय संक्रमित गितसुन्दै तातो पानि पिइरहेका छन् । उनी कोरोनाबाट निको भएको खबर पाएपछि आइसोलेसनबाट निस्कने समय कुर्दै छन् । कति बेला प्रवेशद्धार खुल्ला र निस्कौंला भन्ने सोचले घरीघरी प्रवेशद्धारतिर नजर डुलाउँछन् ।

उनी पोखरा आएको २ दशक भयो । उनकी श्रीमती र १ छोरा उनीसँगै पोखरामा छन् । पेशाले ल्याब टेक्निीसियन रहेका उनी आमाको स्वास्थ्यको चिन्ताले यो तिहारमा घर नजाने बताउँछन् । ८० वर्षकी उनकी आमा महोत्तरीमै छिन् । टिका लगाउन उनलाई मन त थियो, तर आफुमा नेगेटिभ आएपनि सर्न सक्ने डरलाई जान रोकेको छ ।

‘टिका लगाउन जान मन थियो, दोस्रो रिपोट नेगेटिभ आइसकेको पनि छ,’ उनले भने, ‘घरमा आमालाई सर्न सक्ने डरले जान सकिनँ, समयले साथ नदिएपछि के लाग्छ र ?’पोखरा २२ का २५ वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भयो । रिपोर्ट नआउँदासम्म उनी तिहार मनाउन पाउँछु भन्ने सोच्दथे । 

उनी नेगेटिभ आउँछ र दिदीको घरमा जाउँला भन्ने सोचमा थिए । तर भाइटिका अघिकै दिनमा आएको रिपोर्टले उनको गन्तव्य मोडिदियो । उनी आइसोलेसन आउन बाध्य बने । ‘नेगेटिभ आउला र दिदीको घर जाउँला भन्ने थियो, आइसोलेसनमा पो आउनु पर्‍यो,’ उनी केही हँसिलो हुँदै भन्छन् ।

कृषि तालिम केन्द्रको आइसोलेसनका ४८ संक्रमित अहिले घरको सम्झनामा बसिरहेका छन् । कोरोना महामारीका कारण अहिलेको तिहार धेरैको लागि खल्लो बको छ । देशभर संक्रमण दर उकालो लागिरहँदा कोही घरका परिवारको माया त कोही आफैं संक्रमित बनेपछि घर जान नपाएपछि निराश हुँदै पहिलेका तिहारको सम्झनामै बस्न बाध्य छन् । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x