गण्डकी

विपक्षी सांसद भन्छन्ः प्रदेश प्रमुख सरकारको प्रवक्ता बन्‍नुभो

इकागज |
बैशाख २२, २०७८ बुधवार १८:२४ बजे

फाइल तस्बिरः प्रदेश प्रमुख सीता पौडेल

पोखरा : गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेलगत्तै विवादित अभिव्यक्ति दिइन् । इकागजसँगको कुराकानीमा उनले सभामुखको राजीनामा माग्नुपर्ने बेला आएकोदेखि संसद्‍को गतिरोधमा विपक्षी दलको भूमिका रहेको बताइन् । 

माओवादीकी सांसद आशा कोइरालाले प्रदेश प्रमुख सरकारको प्रवक्ता जस्तो गरेर बोलेको आरोप लगाएकी छन् । सरकारको प्रवक्ता, दलको कार्यकर्ता र सभामुखको कट्टर आलोचकको रूपमा प्रदेश प्रमुख उत्रिएको उनको भनाइ छ । ‘प्रदेश प्रमुख त सेरेमोनियल हो नि, सरकारको प्रवक्ता, दलको कार्यकर्ता र सभामुखको कट्टर आलोचक बन्नु भएको रहेछ,’ उनले भनिन् । 


कोइरालाले प्रदेश प्रमुख पौडेललाई पुरानो महिला नेतृ भनेर सम्मान गर्ने गरे पनि राजनीतिक चेत नभएको झैं प्रस्तुत भएको बताइन् । संविधानले प्रदेश प्रमुखलाई दिएको क्षेत्राधिकार भुलेर नियमको कुनै ज्ञान नभएको भन्दै आलोचना गरिन् । ‘आफ्नै कार्यकालमा सदनमा गतिरोध आएको झैं यसो र त्यसो भयो, विपक्षी दोषी भन्नुभएछ, संविधानको ज्ञान रहेनछ,’ उनले भनिन् । 

प्रदेश प्रमुख कोइरालाको भनाइ अहिले विवादित बनेको छ । विपक्षी दलले उनको अभिव्‍यक्‍तिप्रति विरोध जनाएको छ । जनता समाजवादी पार्टी (जसपा)का सांसद हरिशरण आचार्यले फेसबुकमा स्टाटस लेख्दै प्रदेश प्रमुख पौडेलले पदको मर्यादा भुलेर बोलेको बताएका छन् । ‘प्रदेशवासीको अभिभावक मान्ने गर्छन्, कति हतार २४ घन्टा पनि मर्यादामा बस्न नसक्नेलाई कसरी अभिभावक मानौं ?’ आचार्यले लेखेका छन् । प्रदेश प्रमुख पौडेलले नैतिकता गुमाएको र आफूहरुको विश्वास गुमाएको उनले बताए । 

इकागजलाई दिएको विवादित प्रतिक्रिया उनकै शब्दमाः

संविधानको परिधिभित्र बसेर प्रदेशमा समन्वय गर्ने मेरो मुख्य जिम्मेवारी हुन्छ । विधेयक, ऐनहरु प्रमाणिकरण गर्ने अर्को जिम्मा हुन्छ । संसद बोलाउने, बजेट प्रस्तुत गर्ने, नीति कार्यक्रम बनाउने अर्को जिम्मा भयो । प्रदेश सभामा अहिले गतिरोध छ । यसमा म समन्वय गर्नेछु । सबै दलहरुलाई मिलाएर लैजाने, अवरुद्ध संसदलाई निकास दिन पहल गर्ने मेरो भूमिका हुन्छ । गण्डकी प्रदेश सभा अवरुद्ध गराउने काम त सत्ता पक्षले गरेको होइन ।

यो अवरुद्ध गराउने काम त प्रतिपक्षीले नै गर्यो‍ । सत्ता पक्ष त यसलाई कन्टिन्यु गरौं भन्ने पक्षमै छ नि । सरकारलाई थाहा नदिइकिन कसैलाई थाहा नदिइ के त्यस्तो घडी प¥यो कि सभामुखले अनिश्चितका लागि सूचना जारी गरेर लथालिंग पार्ने काम त सभामुखले गर्नुभयो । अविश्वास प्रस्ताव दर्ता भाछ, छलफल सुरु भाछ, कार्यसूचीमा चढिसकेको छ, मतदानमा जाने प्रक्रिया चलिसकेको छ, त्यस्तो अवस्थामा सभामुखले एकाएक अनिश्चितका लागि बन्द गर्ने के घडी पर्यो ? त्यहाँबाट खोज्नुपर्यो‍ समस्याको चुरो । यसमा मेरो भूमिका हुन्छ ।

अबको नियम कानुनको परिधिभित्रै बसेर निकास दिन काम गर्ने हो । नियमअनुसार भन्ने हो भने अब अविश्वास प्रस्ताव निश्क्रिय भएको जस्तो अवस्था छ नि त । छलफल चलिसकेको मतदानमा जान लागेको कुरा एकाएक बन्द गर्दा अब के बुझ्ने त ? न सरकारलाई दोष दिने ठाउँ छ त्यहाँ । जिम्मेवारी सबै सभामुखले लिनुपर्छ । सभामुखले नै कसरी निकास दिने हो त्यो सभामुखले नै ल्याउनु पर्यो‍ । सभामुखको राजीनामा माग्ने घडी त आइसक्यो त । कम्तीमा पनि मिलाउनु पर्यो‍, अहिलेलाई बैठक स्थगित गरौं भनेर सल्लाह गरेको भए यो परिस्थिति आउने थिएन होला नि । त्यही भएर सभामुखमा धेरै समस्या थियो, त्यो के हो, सहजीकरण गर्ने, फुकाउनेमा मेरो भूमिका रहन्छ ।

यो पनि 

नवनियुक्त प्रदेश प्रमुख भन्छिन्ः अविश्‍वास प्रस्ताव निष्‍क्रिय जस्तै, सभामुखको राजीनामा माग्‍ने घडी आइसक्यो


Author

थप समाचार
x