गण्डकी

पोखरामा वात्स्यायनलाई नागरिक अभिनन्दन

यस्तो छ वात्स्यायनको जीवनी

धनबहादुर गुरुङ |
चैत ४, २०७९ शनिबार १७:० बजे

पोखरा- पोखरा-३ नदिपुरस्थित एक गल्लीका छेउछाउ स्ट्याण्डमा अड्याइएका कार्टुनको लस्कर । मोटर हिँड्न बनाइएको बाटोमा माेटरभन्दा बढी मान्छे । केही चल्तीका अनुहारसहित विभिन्न संघसंस्थाको प्रतिनिधिको भिडभाड । त्यही भिडबाट आवाज निस्किरहेको थियो, ‘पोखरेली युवा सांस्कृतिक परिवारले बडो गजबको काम गर्‍यो । सम्मान र इज्जत भनेको समय मै गर्नुपर्छ ।’ त्यहाँ उपस्थित धेरैले खुसी मनाइरहेका थिए । लाग्थ्यो कि त्यहाँ कुनै महोत्सव नै चलिरहेको छ ।

तर, त्यहाँ महोत्सव नभएर जन्मोत्सवको खुसीयाली थियो । जन्मोत्सव हो, नेपाली चित्रकला जगतका शीर्षस्थ प्रतिभा, नेपाली व्यङ्ग्य चित्रकलाका सर्वोच्च व्यक्ति, दुर्गा बराल वात्स्यायनको । ‘वात्स्यायन’ ले ८० औं वसन्त पार गरेका छन् । चित्रकलाका यिनै हस्तीको रथारोहण र नागरिक अभिनन्दन अघिको दृष्य हो, यो ।


पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार उनको सम्मानमा रथारोहणसहित विशेष नागरिक अभिनन्दन गर्‍यो । कला क्षेत्रमा उनले पुर्‍याएको योगदान र संघर्षको सम्मानस्वरूप रथारोहण गरिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

रथारोहणमा वरिष्ठ साहित्यकाहरू सरुभक्त, तीर्थ श्रेष्ठ, वरिष्ठ गायिका हरिदेवी कोइरालादेखि नयाँ पुस्ताका सरस्वती प्रतिक्षा, दिपक समितलगायतका कलाकार सहभागी थिए । विभिन्न संघसंस्थासँगै साहित्यकार, कलाकार, नागरिक समाज, विद्यार्थीलगायतले ब्यानरसहित उपस्थिति जनाएका थिए । समारोहमा उनको धर्मपत्नी, छोराहरू र परिवारका सदस्यको पनि उपस्थिति थियो ।

वात्स्यायनको निवासबाट निस्किएको रथारोहण विन्ध्यवासिनीमा पुगेर टुंगिएको थियो । त्यहाँ उनलाई विभिन्न आयोजक पोखरेली युवा साँस्कृति परिवार, पोखरा महानगरपालिका ३ को वडा कार्यालयलगायत दुई दर्जनभन्दा बढी संघसंस्थाले नागरिक अभिनन्दन गरेको थियो ।

अभिनन्दनपछि वात्स्यायनले पोखराले अतुलनीय खुसी दिएको बताए । ‘मैले सानैमा आमा गुमाए त्यसैले पनि पोखरामा बस्दा मलाई आमाकै काखमा बसेजस्तो लाग्छ,’ उनले भने, ‘मैले कार्टुन र कलाका क्षेत्रमा जति काम गरे त्यो सबै पोखरा कै देन हो । यसका लागि सबैलाई धन्यवाद ।’ आफू पूर्वअध्यक्ष भएको संस्थाले आफूलाई अभिनन्दन गर्दा गौरव महसुस गरेको उनले सुनाए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति सरुभक्तले नेपाली व्यङ्ग्यचित्रको इतिहासमा व्यङ्ग्यचित्र र वात्स्यायन पर्यायवाची शब्दजस्ता रहेको बताए । उनले कला नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तिकै चर्चित रहेको सुनाए ।

वात्स्यायन पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष पनि हुन् । उनी अहिले यो संस्थामा सल्लाहकार छन् । साहित्यकारहरू विजय वजिमय, सरुभक्त, तीर्थ श्रेष्ठ र गायक सरोजगोपाल बज्राचार्यसँग संगतसँगै ५० वर्षअघि वात्स्यायन पोखरेली युवा सांस्कृतिक परिवारमा जोडिन पुगेका थिए ।

यस्तो छ वात्स्यायनको जीवनी 

दुर्गा बराल कास्कीको आर्वाविजयमा वि.सं १९९९ चैतमा जन्मिएका हुन् । जन्मिएको ३ वर्षमै उमेरमा आमा गुमाउनुपर्‍यो । त्यसपछि बराल फुपूको छत्रछायामा बैदाममा हुर्किए । उनी सानैदेखि चित्रकलामा औधी रुचि राख्थे । ढुंगाका छपनी देख्नासाथ चित्र बनाइहाल्ने उनको बानी थियो । आर्वाको ठाँटीबाट पढाइ सुरु गर्दादेखि नै आफूले चित्र बनाउन थालेको उनी सम्झन्छन् । त्यहाँ पढाइने दुर्गाकवच, चण्डी र अमरकोषमा भन्दा उनको ध्यान अन्यत्रै थियो ।

नागपञ्चमीका दिन बुवाले बनाएका नागका चित्र, घरका भित्तामा बनाइने कलात्मक बुट्टा र तुलसीको मठमा राख्न फुपूले बनाउने मूर्तिका कारण उनको ध्यान चित्रकारितातिर ढल्किएको उनी सम्झन्छन् । ‘मलाई पढाइभन्दा चित्रतिर ध्यान हुन्थ्यो,’ उनले भने, ‘यहाँका फाँट, डाँडाकाँडा र पोखराको प्राकृतिक दृष्यले पनि म कलातिर ढल्किएँ ।’ 

२००९ सालमा पोखरा झरेर उनी फुपूको घरमा त्यसपछि नदिपुरस्थित मामाको घरमा बस्न थाले । सोही समयमा टुँडिखेलस्थित मल्टिपर्पज अर्थात् अहिलेको राष्ट्रिय माविमा भर्ना भए । त्यहाँबाट २०१८ सालको एसएलसी परीक्षा उत्तीर्ण गरी उनी पृथ्वीनारायण कलेज भर्ना भए । जीव विज्ञान पढ्दा बिरुवा र जीवहरूका राम्रा चित्र बनाएको देखेर शिक्षिका एलियाम्मा जोनले बराललाई विज्ञान पढ्न छाडेर छात्रवृत्तिमा चित्रकारिता पढ्न सुझाव दिइन् ।

त्यपछि लगत्तै उनी २०१९ सालतिर काठमाडौं पुगे । घरेलु शिल्पकला भण्डारका हाकिमले कलाको पढाइ र छात्रवृत्तिका लागि सिफारिस पनि बनाइदिए ।

काठमाडौंस्थित घरेलु शिल्पकलामा ५० रुपैयाँ मासिक ज्यालामा डिजाइनरको काम थाले । करकट्टी हुँदा ३५ रुपैयाँ मात्र गोजीमा पर्थ्यो । ३ महिनापछि उनले घरेलु छाडे । खर्चका लागि पैसा भएन ।

कलाकारिता पढ्ने हुटहुटीले उनलाई काठमाडौंबाट दिल्लीसम्म पुर्‍यायो । तर, ठूलो शहरमा ठूलो सपना बोकेर हिँडेका बराल दिल्लीमा १०/१२ दिनभन्दा बढी टिकेनन् । पुनः काठमाडौं फर्किएर कामको खोजीमा लागे । त्यहाँ उनले शारदा चित्रकार, मदन चित्रकार, दिलबहादुर चित्रकारसँग सहकार्य गरे । बालकृष्ण सम, लैनसिंह बाङ्देल, तेजमान चित्रकार, अमर चित्रकारजस्ता हस्तीहरूसित काठमाडौं मै संगत गर्ने मौका पाए । काठमाडौंमा विभिन्न आरोह अवरोह झेल्दै वि.सं २०२६ सालसम्म काम गरे ।

त्यसपछि पोखरा नै फर्किएर आफैँले आर्ट स्टुडियो चलाउन सुरु गरे । मोहोरिया टोलमा वि.सं २०३० सालमा इगल आई आर्ट स्टुडियो खोलेर फोटो र चित्रकारिताको काम गर्न थाले । त्यो बीचमा पोखरामै विभिन्न फोटो स्टुडियोमा काम गरेका थिए ।

अंग्रेजी उति नजाने पनि उनी टाइम्स अफ इन्डियाका कार्टुन हेर्थे । संग्रह गरेर राख्थे । बिस्तारै उनले पत्रपत्रिकाका लागि कार्टुन बनाउन लागे । उनले राष्ट्रपुकार, देशान्तर, सुरुची र गोरखापत्रका लागि पनि व्यङ्ग्यचित्र बनाए । पृथ्वीनारायण क्याम्पसमा कला प्रशिक्षक भएर पनि काम गरे । पञ्चायती शासकको विरोध गरेर व्यङ्ग्यचित्र बनाउँदा डर भयो । नेपाली पढाउने प्राध्यापक सामनाथ पौडेलले बराललाई ‘वात्स्यायन’ उपनाम राखेर चित्र बनाउन सुझाए । वात्स्यायनको अर्थ ६४ कलाका ज्ञाता र गुरु भएको बताइन्छ । यसरी उनी दुर्गा बरालबाट वात्स्यायन बनेका हुन् ।

वात्स्यायनबाट परिचित हुन थालेपछि बराल पचासको दशकबाट कान्तिपुर पब्लिकेसन्सका लागि व्यङ्ग्यचित्र बनाउँदै आएका छन् । उनी अहिले मोतियाबिन्दुका कारण बायाँ आँखाको अप्रेसन गरी स्वास्थ्य लाभ गर्दैछन् । उनी तिलगंगा आँखा अस्पतालमा नै दाहिने आँखाको पनि अप्रेसन गर्ने तयारीमा छन् । स्वास्थ्य अवस्थाका कारण अहिले कम मात्रामा चित्र कोर्ने उनले सुनाए ।


Author

थप समाचार
x