गण्डकी

प्रदेश सरकार बनाउन रस्साकस्सी

गण्डकीमा नयाँ मुख्यमन्त्री को ? निर्णायक जनमोर्चा नै विभाजित !

अनिष भट्टराई |
बैशाख २८, २०७८ मंगलबार ९:३६ बजे

पोखरा : गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले मंगलबारसम्म बहुमतको सरकार दाबी गरेर आउन दलहरुलाई आह्वान गरेकी थिइन् । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको गठबन्धनले जनमोर्चालाई साथमा लिएर मंगलबार नै दाबी पत्र बुझाउने बताएका थिए । तर सरकार गठनको अन्तिम दिन आइपुग्दासम्म कांग्रेस नेतृत्वको मोर्चाले आवश्यक हस्ताक्षर जुटाउन सकेको छैन । अर्थात निर्णायक भनिएको तीन सांसद सहितको जनमोर्चाले अहिलेसम्म हस्ताक्षर दिएको छैन । 

जनमोर्चाले साथ नदिने हो भने कृष्णचन्द्र पोखरेल नेपालीको नेतृत्वमा सरकार बनाउने विपक्षी मोर्चाको सपना तुहिनेछ । पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशसभामा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्रीमा दोहोरिने सम्भावना पनि उत्तिकै छ ।


कांग्रेस नेतृत्वको मोर्चालाई साथ दिनेमा जनमोर्चाभित्र दुई धार छ । प्रत्यक्ष निर्वाचित २ सांसद एमालेसँग मिल्न खोजेका छन् । समानुपातिक सांसद पियारी थापाले भने कांग्रेसको नेतृत्वमा जानुपर्ने अडान कसेकी छन् । सचेतक समेत रहेकी पियारीले सोमबार ह्वीप नै जारी गरेकी थिइन् । संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीको नाम किटेरै उनले ह्वीप जारी गरेपछि जनमोर्चाको दुई धारको कित्ताकाट भएको हो ।

सांसद पियारी थापा भने प्रधानमन्त्री केपी ओलीको प्रतिगमनमा साथ पु¥याएका पृथ्वीसुब्बा गुरुङको विपक्षमा जान केन्द्रको निर्णय अनुसार आफू चलेको बताउँछिन् । केन्द्रकै निर्णय मानेर जानुपर्ने उनको अडान छ । ‘हामीले अविश्वासको प्रस्तावमा पनि साथ दिने निर्णय गरेका थियौं, यो सरकारबाहेक अरुको नेतृत्वमा सरकार गठनमा साथ दिने हाम्रो केन्द्रीय निर्णय हो,’ थापा भन्छिन् । 

जनमोर्चाले कांग्रेसलाई नै साथ दिने उनको भनाइ छ । सोमबार उनले ह्वीप जारी गर्दा पनि कृष्णचन्द्रको पक्षमा हस्ताक्षर गर्न भनेकी छन् । ह्वीप लगाउने निर्णय संसदीय दलको भएको उनको दाबी छ । ‘१२ गते बसेको बैठककै अनुसार ह्वीप लगाएको हो, पार्टीको निर्णय मान्नुको विकल्प छैन,’ उनले भनिन् । 

यता जनमोर्चा संसदीय दलका नेता भने ह्वीप लगाउने निर्णय अविश्वासको पक्षमा मतदान गर्नका लागि भएको बताउँछन् । पृथ्वीसुब्बाले राजीनामा दिएपछिको परिस्थितिमा कुनै निर्णय नभएको उनले बताए । कांग्रेस नेतृत्वको पक्षमा हस्ताक्षर गर्न कुनै निर्णय नभएको र दलको बैठक पनि नबसेको उनले बताए । ‘ह्वीप लगाएको भन्ने फेसबुकमा देखें, कुनै बैठक नै बसेको छैन, कोरोना लागेर बस्नुभएको सचेतकले कहिले बैठक बसेर निर्णय गर्नुभएछ ?’ उनले बताए । 

बागलुङको ग्राउन्ड राजनीति बुझेका दुई सांसद– कृष्ण थापा र खिमविक्रम शाही त्यो निर्णय मान्न तयार छैनन् । बागलुङमा एमाले र जनमोर्चाले चुनावी तालमेल गर्दै आएका छन् । कार्यकर्तामा पनि कांग्रेससँग मिल्नु हुँदैन भन्ने अभिमत देखिन्छ । 

तर थापाले लगाएको ह्वीप भने राजनीतिक दलसम्बन्धी ऐन विपरीत छ । कुनै विषयमा ह्वीप लगाउनुपरे संसदीय दलको नेताको निर्देशनमा मात्र सचेतकले ह्वीप लगाउन सक्छ । तर संसदीय दलका नेता कृष्ण थापाको निर्देशन बिना नै सचेतक थापाले ह्वीप लगाएकी छन् । कसलाई साथ दिने÷नदिने भन्ने कुरा आज टुंगिने कृष्ण थापाले बताए । 

विपक्षी मोर्चा ढुक्क 

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकारलाई नै साथ दिने निर्णय गरेका थिए । कांग्रेस नेतृत्वको मोर्चामा जनमोर्चाका यहाँका सांसदले केन्द्रकै निर्णय मानेर आफूहरुलाई साथ दिनेमा आशावादी छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान आज बहुमतको सरकार बन्नेमा आफू ढुक्क रहेको बताउँछन् । ‘म ढुक्क छु, आज बहुमतको सरकार बन्छ, जनमोर्चाका साथीहरुले केन्द्रको निर्णय नै मानेर हामीलाई साथ दिनुहुन्छ,’ उनले भने । 

कांग्रेस सांसद कुमार खड्का पनि बहुमतको सरकार बन्नेमा आशावादी छन् । सांसदहरु पार्टीको निर्णयमा चल्ने भएकाले केन्द्रले गरेकै निर्णयलाई यहाँ अक्षरस पालना गरिने उनी बताउँछन् । ‘पार्टीले पठाएर हामी सांसद भएका हौं, उहाँहरु पनि त्यही हो, केन्द्रकै निर्णय मानेर यता आउनुहुन्छ, आउनुभएन भने फेरी पृथ्वीसुब्बा नै मुख्यमन्त्री बन्ने पनि सम्भावना छ,’ उनले भने । 

प्रदेशमा बहुमत दाबी गर्न ३१ सांसदको आवश्यकता पर्छ । एमालेसँग २८ सांसद छन् । कांग्रेस, माओवादी र जनता समाजवादीसँग २९ सांसद (सभामुख सहित) छन् । जनमोर्चाले गर्ने निर्णयमा को मुख्यमन्त्री बन्छ ? त्यसको छिनोफानो आज हुनेछ । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x