तनहुँ-१ मा दुई चुनावको हिसाब :
एमालेले ११ हजार, कांग्रेसले ५ हजार मत गुमाउँदा रास्वपाले बढायो २८ हजार मत
काठमाडौँ- प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईभन्दा १४ हजार बढी मत ल्याएर वाग्ले विजयी भएका हुन् ।
वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । अरु उम्मेदवारले एक हजार मत पनि कटाउन सकेनन् ।
मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार (हालका राष्ट्रपति) रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएका थिए । उपनिर्वाचनमा कांग्रेस उम्मेदवार भट्टराईले २० हजार १ सय २२ मत ल्याएका छन् । पौडेलको भन्दा भट्टराईको मत ५ हजार २ सय ३९ मत कम हो । मंसिर ४ गतेको निर्वाचनमा पनि गठबन्धन भएर पौडेल चुनावी मैदानमा उत्रिएका थिए भने अहिले पनि चुनावी गठबन्धन भएर भट्टराई चुनावी मैदानमा उत्रिएका थिए । यहाँ कांग्रेसले ५ हजार २ सय ३९ मत गुमाएको छ ।
त्यसैगरी मंसिर ४ को चुनावमा दोस्रो भएका नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९ सय ८१ मत पाएका थिए । उपनिर्वाचनमा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत पाए । मंयसिर ४ को चुनावभन्दा उपनिर्वाचनमा एमालेले ११ हजार ४ सय ९३ मत गुमाएको छ ।
मंसिर ४ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । बैशाख १० गते भएको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले ३४ हजार ९ सय १८ मत ल्याएर विजयी भए । मंसिर ४ को चुनावमाभन्दा रास्वपाले उपनिर्वाचनमा २८ हजार ८ सय ७४ मत बढी ल्याएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया